![]()
बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा भएको भनिएको रासायनिक हमलाको जवाफी कदम तत्काल आउन पनि सक्ने वा नआउन पनि सक्ने बताएका छन्। आफ्ना सुरक्षा प्रमुखहरुसँगको भेटवार्ताअघि ट्वीटमार्फत् उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन्।
फ्रान्सेली राष्ट्रपतिले पनि सिरियामा रासायनिक हमला भएको आफूसँग प्रमाण रहेको बताएका छन्। सिरियामा गत शनिवार गरिएको भनिएको रासायनिक आक्रमणका लागि राष्ट्रपति बसर अल असद, रुस र इरान जिम्मेवार रहेको ट्रम्पले आरोप लगाउँदै आएका छन्।
रुसले ती आरोपको खण्डन गर्दै कुनै पनि सैन्य कारबाहीमा संलग्न नहुन अमेरिकालाई चेतावनी दिएको छ। यस्ता आरोप प्रत्यारोपमाझ ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो।
अमेरिकाले कस्तो कदम चाल्नुपर्छ भन्नेबारे अन्तिम सिफारिस गर्ने सुरक्षा प्रमुखहरूसँगको भेटवार्ताअघि ट्रम्पले जवाफी कदम तत्काल चाल्न पनि सकिने वा त्यो तत्काल हुँदै नहुन सक्ने पनि बताएका छन्। उनले लेखेका छन्, “आक्रमण कहिले हुन्छ भनेर कहिल्यै भनेको छैन। धेरै चाँडै हुन पनि सक्छ अथवा चाँडै नहुन पनि सक्छ!”
बुधवार उनले “क्षेप्यास्त्रहरू चाँडै आउँदै” भनेर लेखेका थिए।
‘प्रमाण छ’

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले पनि सिरियाली सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले डुमामा भएको रासायनिक हमला सिरियाली सरकारले गराएको भन्ने प्रमाण आफूसँग रहेको दाबी गरेका छन्। फ्रान्सेली राष्ट्रपतिले आफ्नो सूचनाको स्रोतबारे केही खुलाएनन्।तर उनले कम्तीमा क्लोरिन प्रयोग भएको प्रमाण आफूसँग रहेको बताए। उनले आफूले र राष्ट्रपति ट्रम्पले उचित समयमा प्रतिक्रिया जनाउने बताए।
उनले भने, “आज हामीले गरिरहेको र भोलि पनि गर्ने कुरा के हो भने हामी आफ्ना प्राथमिकतामा अडिग रहन्छौँ, र सिरिया रहेको क्षेत्रमा अधिकतम स्थायित्व सुनिश्चित गर्न चाहन्छौँ।”
“तर जे पनि गर्न सक्छौँ भन्ने सोच पालेको सत्तालाई हामी अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्न भने दिँदैनौँ।”
कस्तो आक्रमण?
पश्चिमा शक्तिहरूले क्षेप्यास्त्र आक्रमण गर्न सक्ने अनुमान गरिएको छ।

तर उनीहरूले त्यस्तो कदम कहिले चाल्छन् भन्नेबारे स्पष्ट छैन।
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले मन्त्रिपरिषद्मा संयुक्त अधिराज्यको प्रतिक्रियाबारे छलफल गर्ने छिन्।
सिरियाली सरकारले कुनै पनि रासायनिक आक्रमण नगरेको दाबी गर्ने गरेको छ। उसले पश्चिमाहरूको गतिविधिले उक्त क्षेत्रमा थप अस्थिरता बढाउने चेतावनी दिएको छ। गत शनिवार डुमामा सरकारी सेनाले विषाक्त रसायनले भरिएको बमले आक्रमण गरेको सहायताकर्मीले बताएका छन्। उक्त आक्रमणमा दर्जनौँ मानिसको ज्यान गएको थियो।


