Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सबैभन्दा लामो सुरुङ छिचोल्ने काम पूरा भएको छ। २६ किलोमिटर लामो सुरुङ केही महिनामा पूर्ण रुपमा सञ्चालनमा आउने बताइएको छ।

सुरुङ छिचोल्ने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर र एसियाली विकास ब्याङ्क एडीबीका दक्षिण एसिया महानिर्देशक हुन किम सहभागी भएका थिए। बिहीवारको कामसँगै मेलम्ची खानेपानी आयोजनाको सबै सुरुङ छिचोल्ने काम सकिएको छ।

 

लक्ष्य

खानेपानी मन्त्री बिना मगरले दशैंसम्ममा मेलम्चीको खानेपानी राजधानीमा वितरण भइसक्ने बताइन्। तर कतिपय जानकार उक्त सरकारी लक्ष्य पूरा हुनेमा शंका गर्छन्।

एडीबीका दक्षिण एसिया महानिर्देशक हुन किमले दोस्रो चरणको मेलम्ची आयोजनाका लागि पनि एडीबी सहयोग गर्न तयार रहेको बताए। दोस्रो चरणमा अन्य साना खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको बताइन्छ। त्यसका लागि आधा अर्ब डलर लाग्ने अनुमान उनले सुनाए।

हाल साढे ३५ करोड डलर बराबरको मेलम्ची आयोजनामा आफूले साढे १४ करोड डलर ऋण उपलब्ध गराएको एडीबीले जनाएको छ। उक्त आयोजनाले करिब १३ लाख शहरी बासिन्दा अर्थात् १ सय ५८ हजार परिवारलाई खानेपानी आपूर्ति गर्ने अनुमान रहेको एडीबीद्वारा जारी वक्तव्यमा उल्लेख छ।

असन्तुष्टि

मेलम्ची क्षेत्रका स्थानीय बासिन्दाले प्राकृतिक स्रोतको पहिलो लाभ स्थानीय मानिसहरूलाई हुनुपर्ने भन्दै त्यसको सुनिश्चितताविना खानेपानी वितरण गर्न नदिने चेतावनी दिएका छन्। सुरुङ छिचोल्ने औपचारिक कार्यक्रममै बोल्दै स्थानीयवासीको एउटा समूहका प्रमुख उपेन्द्र तामाङले ‘लेभी’ लगायतका सुविधा स्थानीयवासीले पाउनुपर्ने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed