![]()
एजेन्सी,चैत ।
इंग्लिश क्लब आर्सनलले युरोपा लिग फुटबलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहिबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा रुसी क्लब सीएसकेए मस्कोलाई ४ – १ ले हराउदै आर्सनल सेमिफाइनल नजिक पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनललाई सहज जित दिलाउन आरोन रामसे र एलेक्जेन्डर लाकाजेट्सले समान दुई दुई गोल गरे । मस्कोका एलेक्सान्ड्रा गोलोभिनले एक गोल फर्काए । आर्सनल र मस्कोबीचको खेलमा पाँचै गोल पहिलो हाफमा भएको थियो ।
इमिरेट्स स्टेडियममा रामसेले खेलको नवौं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । खेलको १५ औं मिनेटमा मस्कोका गोलोभिनले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । तर, खेलको २३ औं मिनेटमा लाकाजेट्सले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई २ – १ को अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै २८ औं मिनेटमा रामसेले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ३ – १ ले अघि रह्यो ।
खेलको ३५ औं मिनेटमा लाकाजेट्सले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्सनलले ४ – १ को अग्रता बनायो । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल आर्सनलले ४ – १ ले आफ्नो बनायो ।
यो जितसँगै आर्सनललाई युरोपा लिगको सेमिफाइनलमा स्थान बनाउन दोस्रो लेगमा बराबरी खेले पुग्ने भएको छ । यता, मस्कोलाई भने फराकिलो जित निकाल्नुपर्ने भएको छ । दोस्रो लेग आगामी अप्रिल १३ मा मस्कोको घरेलु मैदानमा हुनेछ ।


