![]()
एजेन्सी,चैत ।
उत्तर कोरियाले ६ देखि १८ महिना भित्रमै बेलायतसम्म पुग्ने क्षमतायुक्त ब्यालेस्टिक मिसाइलको तयारी पूरा गर्ने बताइएको छ । उत्तर कोरियाका गतिविधिहरुबारे महिनौँसम्म अध्ययन गरिरहेको बेलायती समूहले यस विषयमा तयार पारेको रिपोर्ट सार्वजनिक गर्दै सो चेतावनी दिएको छ ।
तर लगातार खतराको संकेत दिइरहेपनि उत्तर कोरियाले आणविक हतियारसहित मिसाइल तयारी अवस्थामा राख्ने सम्भावना भने कमै रहेको बताइएको छ । विश्व समुदायका लागिसमेत ठूलो चिन्ताको विषय भएकाले विभिन्न देशका विज्ञहरुले गम्भीरतापूर्वक उत्तर कोरियाका क्रियाकलापमाथि अनुसन्धान गरिरहेका छन् । उनीहरुले नेता किम जोङ उनलाई क्रुर तर बुद्धि पुर्याएर मात्र काम गर्ने किसिमको व्यक्तिका रुपमा व्याख्या गरेका छन् ।
उनी अन्य निरंकुश शाषक जस्तै निर्दयी स्वभावको भएपनि उनकै देशका विगतका नेतालाई हेरेर उनी तर्कसाथ काम गर्ने किसिमको देखिएकाले नीतिअनुरुप चलेर आणविक हतियारको प्रयोग नगर्ने सम्भावना पनि उत्तिकै रहेको विज्ञहरुको भनाइ छ ।
उत्तर कोरियाले हालसम्म ६ पटक ठूला ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ र विश्लेषकहरुका अनुसार उनीहरुसँग अमेरिकासम्म पुग्ने पर्याप्त क्षमता भएको हतियार पनि छ । प्योङयोङले हालै यसबारे दाबी गर्दै कडा चेतावनी दिएको थियो ।


