![]()
कैलाली । कैलालीमा जारी डीपीएल धनगढीमा विराटनगर किंग्सले दोस्रो जित हासिल गरेको छ । टिम चौराह धनगढीलाई १८ रनले हराउँदै विराटनगरले दोस्रो जित निकालेको हो ।
विराटनगरले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको टिम चौराहले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराहको लागि शंकर रानाले २५ तथा युएईका अस्फाक अहमेद २२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै चौराहका लागि राजु रिजालले १८, सुनील धमला १२ र युएईकै रोहन मुस्ताफाले ११ रन बनाए । कप्तान सोमपाल मात्र ३ रनमा आउट भए भने राजेश पुलामीले ८ रन जोडे ।
चौराहलाई सस्तैमा समेट्न विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र बसन्त रेग्मीले समान २ – २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभर ५ बलमा अलआउट हुँदै १२७ रन बनाएको थियो । विराटनगरका लागि पवन सर्राफले ४१ तथा अनिल कुमार शाहले २४ रन बनाए । यस्तै कप्तान पारस २ रनमा आउट हुँदा भारतीय खेलाडी सुभम कुमटले १८ तथा हङकङका बाबर हायतले १५ रन जोडे ।
चौराहका लागि सुनील धमलाले ४ विकेट लिए । यस्तै कप्तान सोमपाल कामी र युएईका खेलाडी रोहन मुस्तफाले समान २ – २ विकेट लिए ।


