![]()
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते पार्टी एकताको घोषणा गर्ने तयारी भएपनि त्यसले सार्थक रुप पाउन सकेको छैन । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठक पनि निष्कर्षविहीन भएपछि कार्यदलको प्रतिवेदनमाथि सामान्य छलफलप गर्नु बाहेक अन्य प्रगति केही हुन सकेन ।
बैठकमा विवादित तीनवटा विषय ( जनयुद्ध, निर्वाचन चिन्ह र ५०/५० को भागवण्डा ) को बिषयमा छलफल समेत हुन सकेन । यी बिषय नटुङ्गिएसम्म पार्टी एकता कल्पना भन्दा बाहिर रहेको दुवै पार्टीका नेताहरुले बताउने गरेका छन । माओवादी केन्द्रले यी तीन बिषयलाई एकताको बटमलाइन बनाएको छ ।
नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि मात्रै छलफल गरेर टुङग्याउने कुरा भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, ‘ पार्टी एकता घोषणा बैशाख ९ मा गर्ने सहमति भयो, एकता घोषणासभाका लागि त्यसअघि देशभर प्रचारप्रसार गर्ने निर्णय भयो ।’
यसअघि पार्टी एकताका लागि विधान मस्यौदा र राजनीतिक कार्यदल गठन गरी एकताको आधार तयार गर्न दुवै दलका नेताहरुलाई जिम्मेवारी दिइएको थियो । उक्त कार्यदलले खासगरी तीनवटा विषयमा सहमति जुटाउन नसकेपछि त्यसको जिम्मा एकता समितिलाई दिएको थियो ।


