![]()
तेह्थुम । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले चैत मसान्तभित्र प्रदेश सरकारले बजेट ल्याउने दाबी गर्नुभएको छ ।
तेह्रथुमलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न म्याङलुङ पुग्नु भएका मुख्यमन्त्री राईले चैत भित्र बजेट ल्याउने गरी आफू बजेट निर्माणको काममा व्यस्त रहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, ‘प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका समस्यालाई सम्बोधन गर्ने गरी बजेट निर्माण भैरहेको छ । ’
चालु आर्थिक वर्षको ३ महिनामा खर्च गर्ने गरी प्रदेश सरकारले १ अर्ब २ करोड रुपैंयाको सीमा भित्र रहेर बजेट ल्याउने उहाँले बताउनुभयो । आवश्यकता र योजनाको माग धेरै भएको तर बजेटको सीमा थोरै भएकाले सबै योजनामा बजेट र्पुयाउन समस्या भएको उहाँले बताउनुभयो ।
तेह्थुम जिल्लामा ९६ प्रतिशत जनसंख्या साक्षर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कपछि पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले ७ सय ६२ मेघावाट क्षमताको तमोर जलाशययुक्त आयोजनालाई बहुउद्देशीय आयोजनाको रुपमा विकास गर्न प्रक्रिया अघि बढाएको जानकारी ्दिंदै हवाई मैदान नभएका जिल्लामा सम्भाव्यता अध्ययन गर्न समेत प्रदेश सरकार लागेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले पूर्णता नपाउनुको कारण गठबन्धन दलभित्र समस्या छ भनेर बुझन नहुने स्पष्ट पार्नुभयो ।


