![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुुलुकलाई समृद्ध बनाउने जिम्मेवारी अब युवाहरुको भएको बताउनु भएको छ ।
युवा संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले मुलुकमा राजनीतिक क्रान्तिको पाटो सम्पन्न भैसकेको उल्लेख गर्दै अब समृद्धिको अभिभारा युवा वर्गले लिनुपर्ने बताउनुभयो ।
नेता खनालले भन्नुभयो, ‘मुलुकलाई आर्थिक रुपले सम्मुन्नत बनाउन युवा जनशक्ति निर्माणमा ध्यान दिन म सरकारलाई सुझाव दिन्छु । युवा जनशक्ति मुलुक निर्माणको मूल आधार हो, उनीहरुको उचित परिचालन गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । ’
वरिष्ठ नेता खनालले मुलुकलाई समृद्ध बनाउने प्राकृतिक स्रोतहरू यथेष्ट भएपनि त्यसलाई परिचालन गर्ने जनशक्ति नभएकै कारण मुलुकबाट गरीबि हटन नसकेको उल्लेख गर्नुभयो । उहाँले युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा काम गरेर अघि बढन पनि सुझाव दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि मुलुक निर्माणको जिम्मेवारी युवाहरूले लिनुपर्ने धारणा राख्नुभएको थियो ।


