![]()
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठकलाई सम्बोधन गर्नुभएको छ । बिहीबार अपरान्ह चार बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाइर्ए सम्बोधन गर्नुभएको हो ।
नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई दोश्रोपटक नवनिर्वा्चित राष्ट्रपति भण्डारीले सम्बोधन गरेको यो पहिलो पटक हो ।
राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा घोडाको बग्गीमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गर्नुभएको थियो ।
बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो । बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसातर्फ होमिनु नहुने धारणा राख्नुभयो । उहाँले ४१ प्रतिशत महिला सहभागिताले उत्साहबोध गरेको बताउँदै नयाँ परिवर्तनले अग्रगामी विकासमा जान प्रेरित गरेको उल्लेख गर्नुभयो ।


