![]()
काठमाडौ,चैत ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (बिहिबार) संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा महाराजगंजमास्थित शीतल निवासदेखि नयाँ बानेश्वरको संसद् भवनसम्म जाँदा पूर्ण राजकीय सम्मानको तामझाम प्रयोग गरेकोेमा सर्वत्र विरोध भएको छ । यस विषयलाई नेपालका दैनिक पत्रिकाले पनि कुनै न कुनैरूपमा सथन दिएका छन् । गणतन्त्रमा पनि राजाकै जस्तो सवारी देख्दा सर्वसाधारणमा आक्रोश पैदा भएका छन् । एक जना मानव शास्त्रीले पूरानै ढर्रामा राष्ट्रपति चल्नु र अझ घोडा सवार रिसल्लाहरूले घेरिएर सवारी निकालेर सर्वसाधारणलाई सास्ती दिनुले शासकहरूको चिन्तन बदलिन नसकेको टिप्पणी गरेका छन् ।
मानवशास्त्री डम्बर चेम्जोङ भन्छन्ः‘भौतिक परिवर्तनमा समाज अगाडि हुन्छ तर मानिस त्यो परिवर्तनअनुसार आफ्ना आनीबानी बदल्न सक्तैन । यस्तो अवस्थालाई मानवशास्त्रले सांस्कृतिक पछौटेपन भनेर व्याख्या गर्छ, मोटरको इन्जिन र पाटपुर्जा ठीकठाक राख्नुपर्नेमा सवारी साधनमा भोग दिने भनेर कुखुरा वा बोका चढाउनु सांस्कृतिक पछौटेपनको उदाहरण हो ।’
‘मोटरगाडी नभएको बेला राजामहाराजाहरू बग्गीमा सवारी चलाउँथे । अचेल मोटर, अझ हेलिकप्टरको युग छ तर हाम्रा शासकहरू परम्परा थाम्ने नाममा उही रिसल्लाले घेरिएर मोटर चढ्छन् । यो पनि सांस्कृतिक पछौटेपन हो’ चेम्जोङ भन्छन् ।
सामाजिक सञ्जालमा राष्ट्रपतिको सवारीको विषयमा पनि चर्को आलोचनात्मक टिप्पणी देखिएका छन् । धेरैले राष्ट्रपति रिसल्लासहित सवारी भएको तस्विरलाई ट्वीटरमा पोस्ट गर्दै ह्यासट्यागमा‘मौसुफको सवारी’ भनेर लेखे । कसैले सूत्रात्मक शैलीमा‘तन्त्र गए तुजुक गएन’ भनेर स्टाटस अपडेट गरे ।
एक जना ट्वीटर प्रयोगकर्ताले लेखेका छन्ः‘राष्ट्रपतिज्यूको आजको सवारी र यसले निम्त्याएको सवारी जाम हेर्दा भोग्दा फेरि आफूलाई प्रजाको दर्जामा नै भएको महसुस भयो ?’


