![]()
महाकाली । महाकाली नदीमाथि भारतले एकतर्फी रुपमा निर्माण गरेका आठ पुलमध्ये पाँच पुल नेपालका स्थानीयले भत्काइदिएका छन्। दार्चुलाको व्याँस गाउँपालिका २ का स्थानीयले भारतले एकतर्फी निर्माण गरेका पुल भत्काएका हुन ।
भारतले आफूलाई फाइदा हुने ठाउँमा काठे पुल लगाउने तर नेपालीलाई अत्यावश्यक रहेका ठाउँमा पुल बनाउन नदिएपछि उनीहरु आक्रोशित भएका थिए । तम्बाकु, दोपखे, घाटिबगड, पोला, बुँदी र थिईमा भारतीय पक्षले निर्माण गरेका पुलहरू उनीहरुले भत्काएर महाकाली नदीमा बगाइदिएका हुन्।
उक्त क्षेत्रभन्दा उत्तरतिर पनि भारतीय पक्षले पुल राखेको हुन सक्ने तथा भौगोलिक जटिलता र दूरीका कारण स्थानीयहरू उक्त ठाउँमा पुग्न नसकेको जनाइएको छ । भारतीय पक्षले नेपाल सरकारको अनुमति नलिएरै महाकाली नदीमाथि आठ ठाउँमा काठे पुल लगाएको थियो ।
भारतीय पक्षले तम्बाकु र लखनपुर क्षेत्रमा तीन, थीँई, दोपखे, घाटिबगड, पोला र बुदीमा एकएक काठ पुल राखेका थिए । तीमध्ये तम्बाकु, थीँई र दोपखेमा राखिएका पुलहरू स्थानीयले बगाइदिएका हुन्।


