![]()
काठमाडौ,चैत ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ । निर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु बैठक नेताहरुले बोल्ने क्रम नसकिएकाले जारी छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शुक्रबारदेखि सुरु बैठकमा २३ केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही सिलसिला यथावत रहने जानकारी दिए । पौडेलका अनुसार २२ केन्द्रीय सदस्यले बोल्नका लागि समय मागेकाले बैठक अझै केही दिन लम्बिन सक्ने सम्भावना छ ।
उनले भनेः‘जारी बैठकमा २३ केन्द्रीय सदस्यले बोलिसक्नु भएको छ भने २२ जनाले आजको बैठकमा धारणा राख्ने चाहना राख्नुभएको छ, धारणा राख्न इच्छुक नेताहरुको सूची लामो भएकाले बैठक केही दिन लम्बिन सक्छ ।’
सोमबारको बैठकमा शेखर कोइराला, रामकृष्ण यादव, बलबहादुर केसी, बालकृष्ण पाण्डेलगायत नेताले धारणा राखेका थिए । बैठकमा बौल्ने सबैजसो नेताले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस अरुका कारण नभई आफ्नै कारण कमजोर जस्तो देखिन पुगेको बताएका थिए ।
जारी बैठकमा संस्थापन बाहिरका गुटले सभापति शेरबहादुर देउवाको नीति र नेतृत्वको चर्को आलोचना गरेका छन् भने भित्रकाले बचाउमा समय खर्चिरहेका छन् ।


