![]()
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्थगित गरिएको निर्वाचन यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिएको छ । राखेपले एन्फालाई पत्र लेख्दै विवाद समाधान गर्दै अदालतको पनि सम्मान हुनेगरी निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको हो ।
उच्च अदालत पाटनले निर्वाचन रोक्न अन्तरिम आदेश दिएपछि एन्फाको निर्वाचन समितिले आइतबार सूचना निकाल्दै निर्वाचन अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको जनाएको थियो । एन्फाको निर्वाचन चैत १४ गते हुने तय भएको थियो ।
निर्वाचन स्थगित गरिएकोबारे एन्फाले परिषदलाई जानकारी नगराएको र राष्ट्रिय दैनिक पत्रपत्रिकाबाट परिषदले जानकारी पाएको हुँदा उक्त विषयमा परिषदको ध्यानाकर्षण भएको जनाएको छ ।
उच्च अदालतबाट निर्वाचन रोक्न आदेश आएपछि निर्वाचनबारे छलफल गर्न एसियाली फुटबल फेडेरेसन (एएफसी) को टोली पनि नेपाल आएको छ ।


