![]()
एजेन्सी,चैत ।
रुसको साइबेरियास्थित एक शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । केही व्यक्ति वेपत्ता छन् । एक सय जनाभन्दा बढीलार्इ उद्धार गरिएको छ । स्थानीय मिडियाका अनुसार केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो जहाँ सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।
टेलिभिजनमा देखाइएको तस्विरहरुमा शपिङ सेन्टरबाट बाक्लो धुँवा निस्किरहेको र मानिसहरु झ्यालबाट बाहिर हामफालेको देखिन्छ ।
अग्निनियन्त्रक र उद्धार टोली घटनास्थलमा परिचालित छन् । केमेरोफो शहर रुसको राजधानी मस्कोबाट २ हजार २ सय माइल टाढा पर्दछ । यो शहर कोइला उत्पादनमा प्रसिद्ध छ ।
स्थानीयबासीका अनुसार सन् २०१३ मा बनाइएको यो शपिङ मल निकै चर्चित छ । यसमा एक सानो चिडियाघर पनि छ । आगलागीका कारण खुलेको छैन । रुसको जाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको छ ।


