![]()
काठमाडौं । प्रदेश सरकारको मुख्यमन्त्री बन्न हारगुहार गरेका नेताहरु नै अहिले तनावमा परेका छन । मुख्यमन्त्री बन्न सफल भएपनि साधन स्रोतको अभावमा काम गर्न नपाएपछि उनीहरुको चिन्ता बढेको हो । मुख्यमन्त्री नै पीडित भएपछि अरु मन्त्री त बेरोजगार हुने नै भए । मुख्यमन्त्रीको पीडा कतिसम्म छ भन्ने कुरा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्पष्ट पारिसकेका छन । उनले भनेका छन, ‘आसन त पाइयो, शासन गर्न पाइएन । ’
मुख्यमन्त्री पोखरेलको भनाइ साधन स्रोतसंगै जोडिएको छ । राजनीतिक संरचना बनाएपनि त्यसलाई धान्ने प्रशासनिक र भौतिक संरचना नहुँदा सातवटै प्रदेश सरकारको बेहाल भएको छ । कतिपय प्रदेशका मन्त्रीहरु त काम माग्न काठमाडौं आएका छन भने कतिपय कामै छैन भन्दै सामुहिक भ्रमणमा निस्केका छन ।
मुख्यमन्त्रीहरुको गुनासो सुनेपछि प्रधानमन्त्री केपी ओली पनि चिन्तामा परेका छन । उनले समस्याको समाधानका लागि बुधवार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन । प्रधानमन्त्रीसंग दुःख साटासाट गर्न सबै मुख्यमन्त्री मंगलबार नै काठमाडौं आइसकेका छन । स्रोतसाधन नभएपछि मुख्यमन्त्रीहरुले नै संघीयताको बिरोध गर्न थालेका छन । ‘जोशमा संघीयता ल्याइयो, अहिले फसियो’ उनीहरुको भनाइ यस्तै सुन्न पाइन्छ ।
प्रदेशका मुख्यमन्त्री र मन्त्रीले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् । कतिपय प्रदेश मन्त्रीलाई दिने गाडीसमेत दिइएको छैन ।
बधुवारको छलफलमा प्रदेश सचिव पनि सहभागी हुनेछन् । प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउने बताइएको छ ।


