![]()
काठमाडौं । निर्वाचनपछि नेपाली कांग्रेसमा आन्तरिम लडाई भुसको आगो जस्तो फैलिएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई बिस्थापित गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र केही युवा नेताहरुले अभियान चलाएपनि त्यो पूर्ण असफल भयो । सभापति देउवा झन बलियो बने । पार्टी संसदीय दलको नेतामा ७० प्रतिशत भन्दा बढी मत ल्याएपछि पौडेल समूह मात्र होइन देउवाको बिरोधमा अभियान चलाउने गगन थापाहरु पनि निस्तेज बने ।
यतिमात्र होइन पार्टीमा कोइरालपक्ष पनि देउवातीर मिसिएपछि गुट बिभाजन र आन्तरिक समीकरण फेरबदल हुनेक्रम तीव्र भएको छ । कांग्रेसले केन्द्रीय समिति बैठक चैत ९ गते बोलाएको छ तर यही बिचमा पूर्व महामन्त्री कृष्ण सिटौलाले पौडेलसमूहमा मिसिने घोषणा गरेको छ । सिटौलाको यो चाल बुझन कठिन छैन । यसअघि देउवालाई सहयोग गर्दै आएका सिटौलाले केन्द्रीय समितिको पूर्व सन्ध्यायमा गुट बदल्नु भनेको देउवालाई टक्कर दिन नभई पौडेल समूह कब्जा गर्नु हो ।
सिटौला समूहले केही दिनअघिमात्रै एक कार्यक्रममा देउवालाई कडा चेतावनी दिएको थियो । ‘आजका दिनसम्म ब्ल्यांक चेक दियौं, अब क्रिटिकल सहयोगमात्रै रहन्छ’ भन्ने सिटौला समूहको चेतावनी छ ।
बिगतमा वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति अनुदार रहेका सिटौला एकाएक पौडेलको पक्षमा जानु पौडेलका लागि मात्र होइन सो समूहका नेता प्रकाशमान सिंहका लागि पनि घातक छ । संसदीय दलको नेतामा सिंह उठेपछि कोइराला पक्ष देउवातिर ढल्केको थियो । पौडेल राजनीतिक चालमा साह्ै कमजोर देखिएको र सानो समूहका कारण आफू प्रभावकारीरुपमा अघि बढन नसकेपछि सिटौलाले अब पौडेलको समूह नै कब्जा गर्ने रणनीति बनाएका छन । यसमा गगन थापा र प्रदीप पौडेलले रणनीतिकारको भूमिका खेलेका छन ।
पौडेलसमूहमा मिसिए जस्तो गरेर त्यहाँका पुराना तथा नयाँ नेताहरुलाई आफनो पक्षमा पार्ने र पार्टी महाधिवेशनमा देउवापक्षका उम्मेदवारसंग आफैले प्रतिष्पर्धा गर्ने योजना सिटौलाको छ । यसो गर्दा पौडेल र सिंहलाई भन्दा महाधिवेशन प्रतिनिधिले पनि आफूलाई रोज्ने उनको बिश्वास छ ।
सिटौला राजनीतिक, कुटनीतिक र षडयन्त्रकासमेत खतरनाक खेलाडी भएकाले उनलाई बिश्वास गरिहाल्न नहुने सिंह पक्षधर नेताहरुले पौडेलको कानमा फुक्ने गरेका छन ।
उता, पौडेल र सिटौला समूह एक भएर आफूलाई असहयोग गर्ने चाल पाएपछि सभापति देउवाले उनीहरुलाई कमजोर बनाउनको लागि पार्टी्भित्र अनुशासन कारबाही गर्ने तयारी गरेका छन् । कारवाहीको तरवार चलाउन सभापति देउवालाई बिमलेन्द्र निधि, बालकृष्ण खाँण, मीन बिश्वकर्मा, गोपालमान श्रेष्ठ र मीन बिश्वकर्माले उकासिरहेका छन ।


