![]()
काठमाडौ,चैत ।
गोपालप्रसाद पराजुली आजको मितिसम्म प्रधानन्यायाधीश पदमा कायमै रहेका छन् वा उमेर हदको कारण उनको अवकाश भइसकेको हो भन्ने अझै स्पष्ट भएको छैन । बुधबार प्रधानमन्त्री र राष्ट्रपति दुवैले प्रधान न्यायाधीश पराजुलीलाई बिदामा बस्न अनुरोध गरेर नयाँ प्रधान न्यायाधीशबाट राष्ट्रपतिलाई शपथ ग्रहण गराउने अपेक्षा गरेका थिए । तर, पराजुली उनीहरूको सल्लाहलाई बेवास्ता गरेर बिदामा बसेनन् ।
कतिपय न्यायाधीशले उनले तोकेको इजलासमा बस्न अस्वीकार गरे पनि उनले आफ्नालागि छुट्याएका १५ मुद्दाको सुनुवाइ सकेर राष्ट्रपतिलाई शपथ ग्रहण गराउन आफैँ गए ।
प्रधान न्यायाधीशले राष्ट्रपतिलाई शपथ खुवाउँदै गर्दा उनको कार्यकक्षमा भने उमेर हदका कारण गत साउन महिनामा नै उनको पदावधि सकिएको पत्र न्याय परिषद्ले पठाएको थियो । राष्ट्रपतिलाई शपथ ग्रहण गराइरहेकै समयमा प्रधान न्यायाधीशले यो पत्रको खबर थाहा पाएको देखिन्छ ।
तर, प्रधान न्यायाधीश पदेन न्याय परिषद्को अध्यक्ष हुने कारणले उनले तुरुन्तै न्याय परिषद्को बैठक बोलाए । तर, न्याय परिषद्को बैठक बस्न सकेन ।
पराजुलीले आफू प्रधानन्यायाधीशको पदबाट नहटेको र बिहीबार पनि इजलास तोक्ने बताएका छन् । उनले आफू सर्वोच्च अदालत जाने र अन्तिमसम्म डटेर लड्ने पनि बताएका छन् । पराजुलीले न्याय परिषद्को पत्रलाई अटेर गरेर बिहीबार पनि इजलास तोक्ने कार्य गरे भने उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याइने तयारी भएको छ ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले गोपाल पराजुली उमेर हदका कारण पदमुक्त भएको र आफू कायममुकायम प्रधानन्यायाधीश भइसकेको प्रतिक्रिया दिएका छन् । संविधानविद् डा. भिमार्जुन आचार्यले न्याय परिषद्का सचिवको पत्र न्यायालय र लोकतन्त्रमाथि‘कु’ भएको बताएका छन् । नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले भने प्रधान न्यायाधीश पदमुक्त भएको धारणा प्रकट गरेका छन् ।


