![]()
काठमाडौ,फागुन ।
आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीसँग आज प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा निकै कमजोर प्रदर्शन गरेको पपुवा न्युगिनीका खेलाडीलाई रोके नेपाल एक दिवसीय मान्यता नजिक छ तर त्यति सजिलो भने छैन । पपुवा न्युगिनी निकै बलियो राष्ट्रका रुपमा चिनिन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको चौथो हुँदै विश्वकप छनोटमा स्थान बनाएको टिम हो ।
तर जारी विश्वकप छनोट प्रतियोगितामा भने राम्रो प्रदर्शन गर्न सकेन । समूह चरणमा एक खेल पनि जित हात नपारेको पपुवा न्युगिनीमाथि नेपालले जित हात पारे, एक दिवसीय मान्यता पाउने सम्भावना प्रवल छ । नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको खण्डमा र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउनेछ ।
तर नेपाल पपुवा न्यनिगीसँग पराजित भएमा नेपालले इतिहास रच्ने सुनौलो अवसर गुमाउनेछ । नेपालले जितेमा र हङकङले नेदरल्याण्डलाई पराजित गरेमा नेपाल र हङकङ सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सातौँ स्थानको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।
हेड टु हेडमा पपुवा न्युगिनी हावी
पपुवा न्युगिनी नेपालको नयाँ प्रतिद्वन्द्वी भने होइन । नेपाल र पपुवा न्युगिनीले अहिलेसम्म ३ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा तीनै खेल पपुवा न्युगिनीले जितेको छ । यी दुई टिमबीच पहिलो पटक सन् २००५ मा विश्व क्रिकेट लिग डिभिजन टु छनोटमा प्रतिस्पर्धा भएको थियो । जुन खेलमा पपुवा न्युगिनीले नेपाललाई ७० रनको भारी अन्तरले पराजित गरेको थियो ।
यसपछि नेपाल र पपुवा न्युगिनीबीचको भेट सन् २०१५ नोभेम्बरमा भयो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको थियो । जुन दुबै खेलमा नेपाल जित नजिक पुगेर पराजित भएको थियो । च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा २ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि पपुवा न्युगिनीसँग ३ विकेटले पराजित भएको थियो ।
नेपालसामु विगतको हारको बदला लिँदै एक दिवसीय मान्यता पाउने ठूलो अवसर मिलेको छ । त्यसका लागि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्नु पर्ने हुन्छ ।


