![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बर्तमान सरकार मुलुकको इतिहासमै पहिलो शक्तिशाली सरकार भएकाले मुलुक र जनताका पक्षमा बिना सम्झौता काम गर्नुपर्ने बताउनु भएको छ ।
प्रदेश नम्बर १ का संघीय संसद तथा प्रतिनिधिसभाका सांसद तथा देशभरका तामाङ सांसदको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले एमालेको नेतृत्वमा दुई तिहाइ भन्दा बढीको सरकारले रहेकाले अब राष्ट्रको आवश्यकतालाई ख्याल गरी स्पष्ट नीति, योजना र कार्यक्रमका साथ अघि बढ्नुपर्ने औंल्याउनुभयो ।
नेता खनाल भन्नुभयो,‘सरकारले अब सिंगो राष्ट्रको अगुवा गर्दै हिंड्न सक्नु पर्छ । मुलुकको आर्थिक, समाजिक, सांस्कृति, भौतिक तथा सबै जातीको प्रगतीका लागि बिशेष योजनासहित अघि बढन म प्रधानमन्त्रीलाई सुझाव दिन्छु । ’
स्थानीयतह, प्रदेश र केन्द्र सबै ठाउँमा बामगठवन्धनको प्रभुत्व रहेको भन्दै नेता खनालले केन्द्र र प्रादेशिक सरकारले स्थानीय भाषा, कला र संस्कृतिको विकासमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । त्यसमा पनि तामाङ समुदायको विकासका लागि ‘स्पेसल प्याकेज’कै रुपमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । बर्तमान सरकारलाई अझै समावेशी बनाउन तामाङ समुदायबाट पनि एक जना मन्त्री बनाउन जरुरी रहेको भन्दै उहाँले यस बिषयमा आफूले प्रधानमन्त्रीसंग कुरा गरिसकेको जानकारी दिनुभयो ।


