![]()
एजेन्सी । दक्षिण अफ्रिकाबिरुद्धको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया बिजयी भएको छ । पाहुना टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ११८ रनले पराजित गरेको हो ।
दुर्बानमा भएको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकामाथि सहज जित निकालेको हो । ४१७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पाँचौं दिन सबै विकेटको क्षतिमा २९८ रनमात्रै बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि एडन माक्र्रमले १४३ रन बनाए । त्यस्तै, डि ककले ८३ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ विकेट लिए ।
त्यस्तै, पहिलो इनिङ्समा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गर्दै १६२ रन बनाउँदा अलआउट भएको थियो । पहिलो इनिङ्समा एबी डि भिलियर्सले नटआउट ७१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेन । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ५ विकेट लिएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ३५१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि मिचले मार्सले ९६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ५ विकेट लिएका थिए ।
अष्ट्रेलियाले दोस्रो इनिङ्समा २२७ रन बनाएपछि दक्षिण अफ्रिकाले ४१७ रनको चुनौति पाएको थियो । ४ खेलको टेष्ट क्रिकेट शृंखलामा अष्ट्रेलियाले १–० ले लिड गरेको छ । अब दोस्रो टेष्ट क्रिकेट मार्च ९ देखि १३ तारिख सम्म हुदैछ ।


