![]()
काठमाडौँ ।
राजधानीको व्यस्त सडक कोटेश्वरबाटै एक युवा अज्ञात समूहद्वारा अपहरणको शैलीमा बेपत्ता पारिएका छन्। मोटरसाइकलमा सवार पुष्पेश भाटलाई आफूलाई प्रहरी भनी परिचय दिने समूहले स्कर्पियो गाडीमा हालेर लगेका हुन्। घटनाको २० घण्टा बितिसक्दा समेत उनको स्थिति अज्ञात रहँदा उपत्यकाको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको छ।
के थियो घटना?

प्रत्यक्षदर्शी एवं याङ्गो चालक जिलाप तामाङका अनुसार, आफूलाई प्रहरी दाबी गर्ने समूहले भाटलाई नियन्त्रणमा लिई जबर्जस्ती स्कर्पियोमा हालेर लगेका थिए। उक्त समूहले चालक तामाङलाई भाटको भाडा/पैसासमेत बुझाएर सवारी गन्तव्यतर्फ मोडेको अनलाइनखबरलाई बताएका छन्।
प्रहरी भन्छ: ‘हाम्रो नियन्त्रणमा छैनन्’
घटना घटेको २० घण्टा बितिसक्दा पनि काठमाडौँ उपत्यकाका कुनै पनि प्रहरी वृत्त, परिसर वा शाखाले भाटलाई आफ्नो नियन्त्रणमा राखिएको स्वीकार गरेका छैनन्। राज्यको सुरक्षा निकायले नै अनभिज्ञता प्रकट गरेपछि भाटको अपहरण भएको आशंका बलियो बनेको छ।
परिवारजन गम्भीर चिन्ता र आक्रोशमा
दिउँसै सडकबाट युवा बेपत्ता पारिँदा र प्रहरी प्रशासनले कुनै सुराक दिन नसक्दा भाटको परिवारजन अत्यन्तै चिन्ता र तनावमा परेका छन्। “यदि प्रहरीले नै समातेको हो भने सार्वजनिक गर्नुपर्यो, होइन भने सर्वसाधारण नागरिक दिनदहाडै अपहरण पर्दा प्रशासन के हेरेर बसेको छ?” भन्दै परिवारजनले आक्रोश व्यक्त गरेका छन्।
राजधानीको मुख्य नाका मानिने कोटेश्वरजस्तो संवेदनशील ठाउँबाट ‘प्रहरी’को नाम भुलाएर नागरिक उठाइनुले उपत्यकाको शान्ति सुरक्षामाथि ठूलो चुनौती खडा गरेको छ। घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याउन र भाटको सकुशल उद्धार गर्न चौतर्फी दबाब बढेको छ।


