![]()
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले संसदीय दलको नेतामा सर्वसम्मत आफू चुनिन गरेको प्रयास लगभग असफल भएको छ । होलीको बाहनामा महामन्त्री कोइरालाले दलको नेतामा आफू सर्वसम्मत हुने प्रयास गरेका थिए । यसका लागि उनले युवा नेताहरुलाई लबिङका लागि परिचालन गर्नुकासाथै बुधवार आफनै निवासमा पार्टीका शीर्ष नेताहरुकासाथै सांसद र केन्द्रीय सदस्यहरुलाई लञ्चका लागि आमन्त्रण गरेका थिए । लञ्चमा सबै नेताहरुलाई बोलाउँदा आफनो नाममा सर्वसम्मती हुने बिश्वास उनको थियो ।
डा. कोइरालालाई आफूले लिएको नीति आफैलाई भारी परेको छ । सभापति शेरबहादुर देउवा र पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले सशांककै घरमा पुगी उनको मन भाँचेका छन । उनीहरु दुवैले सशांकको मन राख्नुको सट्टा त्यहीं पुगेर आफनो उम्मेदवारी घोषणा गरे ।
सभापति शेरबहादुर देउवाले कोइरालाको निवासमै संसदीय दलको नेता आफैं हुने दाबी गरे । पार्टी सभापति आफू भएकाले संसदीय दलको नेता पनि आफैं हुने उनले बताए । यतिमात्र होइन उनले फागुन २१ गते हुने संसदीय दलको निर्वाचनमा आफूले उम्मेदवारी दिने घोषणा पनि गरे ।

संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दाबी गर्दै आएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि कोइरालालाई समर्थन गरेनन । उनले सर्वसम्मतको अवस्था नरहेको भन्दै संसदीय दलमा आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे । उनले नेतृत्वको कमजोरीले पार्टीको अवस्था खुम्चेको भन्दै अब संसदीय दलको नेतृत्व आफूले लिने बताए ।
महामन्त्री कोइरालाले भने सर्वसम्मत् नेता चयन गर्न आफ्नो भूमिका हुने बताए । उनले संसदीय दलको नेतामा सर्वसम्मत् भए आफूपनि इच्छुक रहेको बताए ।
महामन्त्री कोइरालाले राखेको चियापान कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मौन देखिए ।


