![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनाव अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्ट्विरूद्ध उक्त चुनावमा भएको भनिएको रूसी हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराएका छन्।
उक्त अभियोगमा मानाफोर्टले गोप्य रूपमा रूस समर्थक युक्रेनी सरकारको पक्षमा वकालत गर्ने वरिष्ठ युरोपेली नेताहरूलाई घुस दिएको आरोप लगाइएको छ।
मानाफोर्टले ती पूर्व राजनीतिज्ञलाई २५ लाख डलर दिएको पनि उक्त अभियोगपत्रमा उल्लेख छ। तर उनले भने मलरको छानबिनमा आफूलाई निर्दोष देखाउँदै आएका छन्।
ट्रम्पको चुनावी अभियानका अर्का पूर्व सहव्यवस्थापक रिक गेट्सले रूसी प्रभावबारे जाँच गरिरहेका अनुसन्धानकर्ताहरूसँग सम्झौता गरेका छन्। उनले अमेरिकी संघीय जाँच ब्युरो एफबीआई समक्ष झुटो बोलेको स्वीकार गर्दै षड्यन्त्रकारी गतिविधि गरेकोमा आफू दोषी रहेको बताए।
मलरले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रूसी हस्तक्षेप भएको दाबीमाथि अनुसन्धान गरिरहेका छन्।
गेट्सले मलरको जाँचबुझमा सबै विषयमा सघाउने प्रतिबद्धता जनाएपछि नयाँ अभियोगहरू दर्ता भएका हुन्।


