Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अझै दुई दिन मन्त्रिपरिषद्ले पूर्णता नपाउने, एमाले र माओवादीमा मन्त्री बन्न हानाथाप

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रमा मन्त्रीका आकांक्षीको संख्या धेरै भएपछि एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ठूलो समस्या परेको छ ।

चुनाव जितेर आएका र समानुपातिकमा परेका सांसदहरुले समेत मन्त्रीको दाबी गरेपछि मन्त्री छान्न उनीहरुलाई सकस भएको हो । नेकपा एमालेले मन्त्री छनोटको अधिकार अध्यक्ष केपी ओलीलाई दिएपनि भित्रभित्रै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, ईश्वर पोखरल लगायतको समूहले आ–आफना मान्छे सिफारिस गर्न छोडेका छैनन । प्रधानमन्त्री ओलीलाई आफनै समूहका नेतालाई मन्त्री बनाउन नेता शंकर पोखरेल, बिष्णु रिमाल, बिष्णु पौडेलहरुको दबाब छ । स्थानीय तहदेखि प्रदेशसम्म ओली पक्षधर नेताहरुले मात्र जिम्मेवारी पाएको भन्दै खनाल र नेपालपक्ष ओलीसंग चिढिएका छन । पछिल्लो समय वरिष्ठ उपाध्यक्ष बामदेव गौतम पनि ओली निरंकुश शैलीमा अघि बढेको भन्दै असन्तुष्ट रहेको बताइएको छ ।

उता, माओवादी केन्द्र भित्र पनि अध्यक्ष दाहाललाई मन्त्री छान्न धौ धौ परेको छ । पार्टीकै रामबहादुर थापा, बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुले मन्त्री नबनाइ हुन्न भन्दै अड्डी लिएपछि दाहाल तनावमा परेका छन । एकातर्फ पटक–पटक मन्त्री भएकाहरुलाई फेरि मौका दिएको आरोप उनीमाथि लाग्न थालेको छ भने पार्टी एकता गरी पुनः माओवादीमा फर्किएका रामबहादुर थापा पक्षलाई मिलाउनुपर्ने बाध्यता पनि उनीसामु छ । दुःखको बेला साथ दिने नेताहरुलाई मौका नदिएर पार्टी छोडेर गएका मौकापरस्त नेताहरुलाई अवसर नदिन दाहालमाथि मुख्यतः जनार्दन शर्मा र कृष्णबहादुर महराले दबाब दिइरहेको बुझिएको छ ।

दुई पार्टीबीच सात बुँदे सहमति भएको हप्ता दिन बितिसक्दा समेत अझै मन्त्रिपरिषद् बिस्तार नहुँदा अनेकौं शंका उत्पन्न भएका छन । यसैबीच, माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबारसम्म सरकार बिस्तार नहुने प्रष्ट पारेका छन । शनिबार प्रेस सेन्टर र प्रेस चौतारी नेपालले चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सोमबार मात्रै मन्त्रिमण्डल बिस्तार हुने बताएका हुन् ।
फागुन ३ गते प्रधानमन्त्री भएका केपी शर्मा ओलीले एमालेका दुई नेतालाई मन्त्री बनाउनु बाहेक थप मन्त्रिपरिषद् बिस्तार गर्न सकेका छैनन्।

एमाले र माओवादी केन्द्रबीच भएको समझदारी अनुसार एमाले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.