![]()
बीबीसी । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तर कोरियासँगको बैठक अलि चाँडो हुने प्रतिक्रिया दिएका छन् । हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ । हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिताका कारण यी दुई देशबीचको सम्बन्ध विगतका तुलनामा केही सुधार भएको हो ।
यसैकारण उत्तर कोरियाले दक्षिण कोरियालाई बैठकको निमन्त्रणा दिएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले उत्तर कोरियामा दुई देशको बैठकका लागि आमन्त्रण गरेका थिए । त्यस बैठकमा उनको उपस्थितिका लागि निमन्त्रणा पत्र दक्षिणका राष्ट्रपति मुनले प्राप्त गरेका छन् । उत्तर कोरियाका नेता जोङ उनकी बहिनीले उक्त पत्र मुनलाई हस्तान्तरण गरेकी थिइन् । उनी ओलम्पिकमा सहभागिताका लागि त्यहाँ गएकी थिइन् ।
दक्षिण कोरियाको पियनचोन नामक शहरमा रहेको प्रेस सेन्टरमा राष्ट्रपति मुनले भने, ‘दक्षिण कोरिया र उत्तरका बीचमा धेरै सम्भावना छन, आगामी दिनमा आपसी वार्ताबाटै सबै कुराको टुंगो लगाउनुपर्छ ।’
कोरियालीहरूले हतारमा काम गर्ने भन्ने एउटा उखान पनि उनले सुनाए । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघका विभिन्न नाकाबन्दी र प्रतिबन्ध अहिले पनि कायमै छन् । उसलाई सुरक्षा परिषद्ले पनि यस विषयमा कालो सूचीमा राखेको छ । उत्तर कोरियाले गतवर्ष धेरै आणविक परीक्षण गरेको थियो ।


