![]()
सुर्खेत । प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार ७ सदस्यीय मन्त्रिमण्डल बनाएका छन । प्रदेश नम्बर ६ को मुख्यमन्त्री बामगठवन्धनको भागवण्डामा माओवादीले पाएको थियो ।
मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि मात्रै प्रदेश सरकारले पूर्णता पाएको हो । मन्त्री नियुक्त गर्नुको पछाडी मुख्य कारण थिए एमालेका प्रकाश ज्वाला । ज्वाला एमालेका केन्द्रीय नेता हुन । उनी झलनाथ खनाल प्रधानमन्त्रीहुँदा उनका राजनीतिक सल्लाहका थिए । साथै, गएको संसदमा अर्थ समितिका सभापति पनि थिए । सधैं लाभको पदमा रहँदै आएका ज्वालाले प्रदेश सरकारमा पनि आँखा गाडेपछि सम्बन्धीत प्रदेशमा मात्र होइन केन्द्रमै हल्लीखल्ली मच्चिएको छ ।
ज्वालाले जुनसुकै भएपनि मन्त्रालय चाहिने अडान लिएपछि उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा दिइएको छ । उनका कारण एमालेकै अर्का प्रभावशाली नेता गुलाफजंग शाहलाई माइनस गरिएको छ । गुलाफजंग गृहमन्त्रीका दाबेदार थिए । उनलाई जिल्ला कमिटीबाटै मन्त्री बनाउनुपर्ने दबाब थियो । ज्वाला र शाहको गृहजिल्ला सल्यान भएको र एउटा जिल्लाबाट दुईवटा मन्त्री बनाउन नसकिने भएपछि शक्तिका आधारमा ज्वाला अगाडि निस्केका हुन ।
बिषम परिस्थितिमा पनि अत्यधिक बहुमतले चुनाव जितेको र कहिल्यै लाभको पदमा नबसेका शाह अध्यक्ष केपी ओली निकट मानिन्छन । ज्वाला नेता नेपाल र खनाल निकट हुन । शाह ओली निकट भएको र उनी अगाडि बढे आफनो राजनीतिक भविश्य नै खतरामा पर्ने देखेपछि ज्वालाले आफनो व्यक्तित्वलाई दाउमा राखेर प्रदेशको मन्त्रालय रोजेका हुन ।
मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीको जिम्मेवारी माओवादीबाट निर्वा्चित जुम्लाका सांसद नरेश भण्डारीलाई प्रदान गरेका छन । यस्तै सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय, हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन । रुकुमबाट समानुपातिक सांसद बनेकी विमला केसीले माओवादीका तर्फबाट भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । विमला बाहेक अरु सबै मन्त्रीहरु प्रत्यक्ष निर्वा्चित सांसद हुन् ।


