![]()
एजेन्सी । दक्षिण कोरियामा जारी विन्टर (शीतकालीन) ओलम्पिक खेलकुदमा जर्मनीले अग्रता लिएको छ ।
विभिन्न १३ स्थानमा भैरहेको ओलम्पिकमा जर्मनीले ९ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको छ । जर्मनीले ४ रजत र ४ नै कास्य जित्दै कुल १७ पदक जितेको छ । यस्तै ८ स्वर्ण, ९ रजत र ७ कास्यसहित कुल २४ पदक जितेको नर्वे दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको नेदरल्याण्डले ६ स्वर्ण, ५ रजत र २ कास्य गरी कुल १३ पदक जितेको छ ।
नवौं दिनको खेल जारी रहँदा चौथो स्थानमा क्यानडा र पाँचौं स्थानमा अमेरिका रहेका छन् । क्यानडाले ५ स्वर्ण, ५ रजत र ६ कास्यसहित १६ पदक जित्दा अमेरिकाले ५ स्वर्ण, ३ रजत, २ कास्यसहित १० पदक जितेको छ । त्यसबाहेक स्विडेन र अष्ट्रियाले समान ४ – ४ स्वर्ण जित्दा फ्रान्स र दक्षिण कोरियाले समान ३ – ३ स्वर्ण पदक जितेको छ ।
यस्तै स्विजरल्याण्ड र इटालीले समान २ – २ स्वर्ण जित्दा जापान, चेक रिपब्लिक,स्लोभाकिया, बेलारुस,ग्रेट ब्रिटेन र पोल्याण्डले समान एक एक स्वर्ण जितेका छन् । यो पटकको विन्टर ओलम्पिकमा चीनले स्वर्ण पदक जित्न सकेको छैन । कुल पाँच पदक जितेको चीनले ४ रजत र १ कास्य जितेको छ ।
विन्टर ओलम्पिकको इतिहासमै सबैभन्दा चिसो मानिएको प्योङचाङ ओलम्पिकमा १५ खेलमा १०२ पदकको लागि ३ हजार बढी खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।


