![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । बिहीबार बालुवाटारमा देशबासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन् ।
राजीनामा दिने क्रममा देउवाले आफूले तीनै तहको निर्वाचन सम्पन्न गर्नुनै ठूलो उपलव्धि भएको भन्दै मुलुकको प्रमुख कार्यभार पूरा गरेको बताए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउने र तीनै तहको निर्वाचन सम्पन्न गर्नु कम चुनौतीपूर्ण नभएको भन्दै निर्वाचनले सम्बृद्ध नेपाल निर्माणको अभियानलाई सकारात्मक सहयोग पुग्ने दावी गरे ।
उनले आफूले निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गरेको भन्दै त्यसक्रममा बाधा व्यवधानहरु आएपनि कुनै बल प्रयोग नगरेको दावी गरे ।
सम्बोधनका क्रममा देउवाले काँग्रेसको सभापतिको हैसियतमा सम्बृद्ध नेपाल निर्माणका लागि आफ्नो भूमिका रहिरहने पनि बताए । उनले संघीयता कार्यन्वयनका क्रममा गर्नुपर्ने धेरै काम सुरु भएको भन्दै आगामी बन्ने सरकारले पनि त्यसलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए ।
सरकारले विभिन्न अवरोधकाबीच ठूला आयोजना सञ्चालनको तयारी गरेको भन्दै मेलम्ची खानेपानी, अरुण तेस्रो, हुलाकी राजमार्ग लगायतका योजना तिव्र गतिमा अगाडी बढाएको बताए । उनले आफैले बहुचर्चित चमेलिया जलविद्युत आयोजनको उद्घाटनसमेत गरिसकेको बताए ।
त्यस्तै उनले गरिबी निवारण कोष प्रभाकारी बनाएको, राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै सवै निर्णयहरु गरेको तथा पन्चशीलका आधारमा छिमेकीसँगको सम्बन्ध कायम राख्ने प्रयास भएको बताए ।
सम्बोधनका क्रममा देउवाले आफ्नो कार्यकालमा भारत र चीनको सहयोगको सह्राना समेत गर्न भ्याए । प्रधानमन्त्री देउवाले अब बन्ने नयाँ सरकारले शान्ति, स्थायित्व र विकासमा ध्यान दिनेछ भन्दै शुभकामना पनि दिए ।


