![]()
काठमाडौं । बामगठवन्धन भित्र राष्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा विवाद भएको छ । नयाँ सरकार गठनको गृहकार्यमा रहेकाबेला राष्ट्रपति चयनको बिषयमा गठवन्धनको प्रमुख घटक नेकपा एमाले भित्र विवाद बढेको हो ।
एमाले र माओवादी केन्द्रवीच भद्र सहमति भए अनुसार प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई तथा उपराष्ट्रपति र सभामुख माओवादीलाई दिने भनिएको छ । त्यस अनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चित भैसकेको छ । तर राष्ट्रपतिमा ओलीको चाहना अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने छ । उता बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल सहितको टिम भने एउटै व्यक्तिलाई दोहोर्याउन नहुने अडानमा देखिएका छन् ।
स्वयम् खनालले आफूलाई पार्टीले जिम्मेवारी दिए उक्त जिम्मेवारी गहन रुपमा निभाउन आफू तयार रहेको सार्वजनिक रुपमै बताउँदै आएका छन् । खनालले राष्ट्रपतिमा ईच्छा व्यक्त गरेका छन् । तर ओली र महासचिव ईश्वर पोखरेल भण्डारीलाई नै दोहोर्याउनुपर्ने अडानमा उत्रिएका छन्।
यता खनाल–नेपाल समूहका नेता एवम् उपाध्यक्ष युवराज ज्ञवालीले नयाँ राष्ट्रपतिमा खनाल उपर्युक्त व्यक्ति भएकोले यसमा कुनै विवाद गर्न नहुने धारणा राखेका छन । एभरेष्ट अनलाइन खबर लगायत बिभिन्न संचारमाध्यमसंगको अन्तक्रियाकाक्रममा उनले खनाल हाई–प्रोफाईल, पार्टी अध्यक्ष र प्रधानमन्त्री भैसकेको व्यक्ति भएकाले उनका बिषयमा विवाद गर्न नहुने बताए ।
उनले अब बस्ने स्थायी समिति बैठकमा नेता खनाललाई राष्ट्रपति बनाउने बिषयमा छलफल हुने र सर्वसम्मत् रुपमा खनालका पक्षमा निर्णय हुने बिश्वास व्यक्त गरे ।


