![]()
एजेन्सी,माघ ।
सेभिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा लेगानेसलाई २ – ० ले हराउदै सेभियाले समग्रमा ३ – १ को जितसहित फाइनलमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन जोक्वीन कोरेया र फ्र्याङ्को भाज्क्वेजले समान एक एक गोल गरे । दुई टोलीबीचको पहिलो लेग १ – १ गोलको बराबरीमा सकिएको थियो । तर, दोस्रो लेगमा सेभियाले सहज जित निकाल्दै फाइनल यात्रा पक्का गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफको १५ औं मिनेटमा कोरेयाले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको सेभियाले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ८९ औं मिनेटमा भाज्क्वेजले एक गोल गर्दै सेभियालाई २ –० को जित दिलाए ।
अब सेभियाले फाइनलमा बार्सिलोना र भ्यालेन्सियाबिचको बिजेतासँग खेल्ने छ । बार्सिलोना र भ्यालेन्सियाबिचको दोस्रो लेग बिहिबार राति हुने छ । दुई टोलीबीचको पहिलो लेगमा बार्सिलोनाले १–० ले अघि रहेको छ ।


