Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

बिबिसि । सन् २०१७ मा अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भए भने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण जारी राख्यो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अन आरोपप्रत्यारोपमा अल्झिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्व मानचित्रमा थप शक्तिशाली भएर निस्के ।

सन् २०१७ मा अरु के के भए जसले विश्वको दिशा नै बदले ?

विरोधका माझ अर्बपति व्यापारी ट्रम्प अप्रत्याशित रुपमा अगाडि बढे र अमेरिकाको ४५ औं राष्ट्रपति बनेर ह्वाइट हाउस पुगे ।

चुनौती
राष्ट्रपति निर्वाचित भएपछि उनले कैयौँ विद्यमान मापदण्डहरुलाई चुनौती दिए अनि कतिपय यस्ता निर्णय गरे जसका कारण विवाद उत्पन्न भयो । अमेरिकाका कैयौँ शहरमा मानिसहरु सडकमा उत्रिएर राष्ट्रपतिको विरोधमा प्रदर्शन गरे । राष्ट्रपति चयन भएपछि ट्रम्पले इस्लामिक अतिवादविरुद्ध विश्वलाई एकजुट बनाउने र त्यसको अन्त्य गर्ने बताए । राष्ट्रपति बनेको एक वर्षभित्र ट्रम्पले कैयौँ बहुपक्षीय संगठन तथा सम्झौताहरुबाट बाहिरिने निर्णय गरे । जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय महत्वपूर्ण थियो ।

संघीय अनुसन्धान निकाय एफबीआइको प्रतिष्ठा ’धुजाधुजा’ भएको टिप्पणी गरेका ट्रम्पले शीतयुद्धकालदेखि अमेरिकाको शत्रु ठानिने रुससँग मित्रता बढाए ।

मस्कोमाथि आरोप
निर्वाचनअघि ट्रम्पको चुनावी अभियान समूहले रुसी अधिकारीहरुसँग सम्पर्क गरेको र चुनावमा मस्कोसँग साठगाँठ गरेको भन्ने आरोप ट्रम्पले अस्वीकार गर्दै आएका छन्। त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका ट्रम्पले चुनावमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपबाट पुटिनले अपमानित महसूस गरेको बताएका थिए ।

सन् २०१७ शुरु नहुँदै अमेरिकी गुप्तचर निकायहरुले राष्ट्रपतीय चुनावमा मस्कोले हस्तक्षेप गरेको आरोप लगाएका थिए । त्यसपछि अमेरिकादेखि स्पेनसम्म र हालै क्याटलोनियामा देखिएको संकटमा रुसको छाया परेको देखिएको थियो । यद्यपि पुटिनले ती आरोपहरुको खण्डन गर्दै आएका छन् ।

विश्वलाई चिर्दै चिनियाँ सडक
विगत केही वर्षदेखि चीनले अन्तर्राष्ट्रिययस्तरमा आफ्नो उपस्थिति बढाउने प्रयास गरिरहेको छ र अन्तर्राष्ट्रिय महत्त्वका मुद्दामा उसले आफ्ना धारणाहरु राख्दै आएको छ । राष्ट्रपति सीले त्यो अवस्थाले आउँदा दिनहरुमा निरन्तरता पाउने पुष्टि गरिसकेका छन् । हालैको एउटा भाषणमा उनले भनेका थिए, “चीन एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ जहाँ हामीले विश्वको केन्द्रीय मञ्चमा आफ्नो स्थान लिनुपर्छ।“

आफ्नो शक्ति र अन्तराष्ट्रिय प्रभावका कारण चीन सन् २०५० सम्ममा ’विश्व नेता’ बन्ने सीले उद्घोष गरेका छन् । त्यो दिशातर्फ चीनले काम अघि पनि बढाइसकेको छ जस्तो कि द सिल्क रोड भनिने प्राचीन रेशममार्ग फेरि ब्युँताउने र एसियाली पूर्वाधार लगानी ब्यांकको स्थापना गर्ने ।

लामो दूरीको क्षेप्यास्त्र
उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रको तेस्रो परीक्षण र्गयो र त्यो कोसेढुङ्गा भएको बतायो । त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जङ अनले पछिल्लो परीक्षणले सिङ्गो अमेरिका उत्तर कोरियाको पहुँचभित्र रहेको पुष्टि गरेको बताएका थिए ।

उत्तर कोरियाली दाबीप्रति शंका भए पनि विज्ञहरुले भविष्यमा प्योङयाङले आफ्नो लक्ष्य हासिल गर्नसक्ने बताउने गरेका छन् । अमेरिकी तथा संयुक्त राष्ट्रसंघीय प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed