![]()
बिबिसि । बर्खास्त गरिएका क्याटलोनियाका राष्ट्रपति कारलस पुज्डमोनले आफ्नो क्षेत्रीय सरकारलाई पुनस्र्थापित गर्न स्पेनी सरकारलाई आग्रह गरेका छन् ।
एक हप्ताअघि सम्पन्न चुनावमा पृथकतावादी पार्टीहरु झिनो बहुमतले विजयी भएपछि उनले यस्तो आग्रह गरेका हुन् ।
बेल्जियममा स्वेच्छाले निर्वासनमा रहेका पुज्डमोनले भिडिओमार्फत क्याटलन जनतालाई नयाँ वर्षको सन्देश दिँदै त्यस्तो माग गरेको समाचारमा जनाइएको छ । उनले आफू अझै क्याटलोनियाको राष्ट्रपति भएको दाबी गरेका छन् ।
स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले निर्वासनबाटै शासन गर्न सकिने पुज्डमोनको भनाइलाई हास्यास्पद भनेका छन् । गत अक्टोबरमा पुज्डमोन बेल्जियम पुगेका थिए ।
स्पेनको सर्वोच्च अदालतले पुज्डमोन तथा अन्य चार पूर्व क्षेत्रीय मन्त्रीहरुविरुद्ध जारी भएको पक्राउ पुर्जी डिसेम्बर पहिलो हप्ता फिर्ता लिएको थियो । एउटा जनमत संग्रहपछि स्पेनबाट क्याटलोनिया स्वतन्त्र भएको घोषणा गरेसँगै स्पेनले उनलाई बर्खास्त गरेको थियो ।
गत अक्टोबर अन्तिम हप्ता स्पेनले क्याटलोनियाको क्षेत्रीय सरकार र संसद्लाई विघटन गर्दै समयअगावै निर्वाचन गराउने घोषणा गरेको थियो । स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै क्याटलोनिया अक्टोबर १ तारिखमा जनमत संग्रह गराइएको थियो ।


