![]()
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित एक आश्रममा महिला हिंसाको विवाद उठेपछि नेपाली राजदुतावासको ध्यानाकर्षण गराइएको छ । सो आश्रममा नेपाली महिला तथा बालिका भए नभएकोबारे छानविन गर्न समाजिक संस्था के.आई. नेपालले दुतावासको ध्यानाकर्षण गराइएको हो ।
विगत १० बर्षदेखि मानव बेचबिखन र लैिङ्गक हिंसा अन्त्यका लागि काम गर्दै आएको के.आई. नेपालले सो आश्रम नेपाली चेलीबेटी पनि परेको हुनसक्ने आशंका गरेको छ ।
आध्यात्मिक विश्वविद्यालयको नाममा खोलिएको आश्रममा दिल्ली हाईकोर्टको निगरानी र दिल्ली महिला आयोगको जाँचमा महिला तथा बालिकामाथि हिंसा भएको खुलासा हुन पुगेको के.आई. नेपालले जनाएको छ ।
सो आश्रममा नेपाली महिला तथा बालिका पनि रहेको समाचार विभिन्न भारतीय संचारमाध्यमबाट प्रकाशित भएपछि के. आइ. नेपाल पनि सक्रिय भएको हो । के. आई. नेपालले आश्रममा नेपाली महिला तथा बालिका छन् या छैनन् भन्ने विषयमा उद्धारको लागि आफ्नो प्रयास जारी राख्ने जनाएको छ । यदि नेपाली महिला तथा बालिका फेला परेमा के.आई. नेपालले उनीहरुको उद्धार र पुनस्र्थापनामा तत्परता जनाउने के.आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए ।
केही समय अगाडि भारतका विभिन्न ठाउँहरुबाट नेपाली राजदुतावास, दिल्ली महिला आयोग र विभिन्न संघसंस्थाहरुको सहयोगमा महिला तथा बालबालिकाहरुको उद्धार गरी पुनस्र्थापना र पुनर्मिलन गराउन यो संस्थाले प्रभावकारी भूमिका खेलेको थियो ।
के.आई नेपालले २ महिलालाई परिवारमा पुनर्मिलन गराएको, १ महिलालाई सुरक्षित आवास गृहमा पुनः स्थापित गराई सीप प्रदान गराउन सफल भएको छ ।


