Breaking News.... EverestOnlineKhabar
June 24, 2026

अध्यादेश पारित भएपछि मात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक डाक्ने

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेपछि मात्र मन्त्रिपरिषद् बैठक राख्नु हुने भएको छ । अध्यादेश जारी भएपछि बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखलगायतका नियुक्ति र प्रदेशसभाको बैठकबारे निर्णय गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रपति कार्यालयबाट अध्यादेश अगाडि नबढुञ्जेल कुनै पनि विवादित विषयमा निर्णय लिइने छैन । प्रधानमन्त्री देउवाले पछिल्लो दुई हप्तादेखि मन्त्रिपरिषद् बैठक डाक्नु भएको छैन ।

अध्यादेश जारी हुने बित्तिकै मन्त्रिपरिषद बसेर राष्ट्रियसभा निर्वाचनको मिति, प्रदेश प्रमुख, प्रदेशका मुख्य सचिव, प्रदेशप्रमुखको कार्यालयका सचिवको नियुक्ति र प्रदेश सभाको पहिलो बैठक बस्ने ठाउँबारे एकमुष्ट निर्णय गर्ने पक्षमा प्रधानमन्त्री रहेको बुझिएको छ ।
एमालेबाहेक सबै प्रमुख चार दल राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने पक्षमा छन् । राष्ट्रियसभा गठन सम्बन्धी कानूनको अभावमा निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम निर्वाचन परिणाम प्रकाशित गर्न सकेको छैन।

प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएर समानुपातिकको मतगणना सकिएपनि आयोगले पार्टीहरूसँग समानुपातिकमा निर्वाचित हुने सांसदहरूको अन्तिम सूची माग्न सकेको छैन । राष्ट्रियसभाको निर्वाचन सकिएपछि मात्र निर्वाचन आयोगले दुवै सदनमा प्रत्येक दलका महिला सांसदको संख्या कम्तिमा ३३ प्रतिशत हुने गरि समानुपातिकको अन्तिम सूची पठाउन पार्टीहरूलाई पत्र लेख्ने छ ।

प्रदेश प्रमुखको नियुक्ति नहुञ्जेलसम्म प्रदेश सभाको गठनले पनि औपचारिकता पाउने छैन । प्रदेश सभा निर्वाचनसम्बन्धी ऐनको दफा ६० को ८ मा प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने उल्लेख छ । प्रदेश प्रमुखले राष्ट्रपतिको प्रतिनिधिका रूपमा काम गर्छन् । त्यसैले, संविधानमा संघीय संसदको मत परिणाम राष्ट्रपति र प्रदेश संसदको मतपरिणाम प्रदेश प्रमुखलाई पठाउने व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed