![]()
एजेन्सी । नेपाल एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न खेलमा मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले मलेसियालाई ७२ रनले पराजित गरेको हो ।
समूह ए को बिजेता बनेर सेमिफाइनलमा पुगेको नेपालले अब फाइनलमा सिंगापुरको सामना गर्ने छ । शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङलाई ८ विकेटले पराजित गर्दै सिंगापुर फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार हुने छ ।
नेपालले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसिया मात्र २१ ओभर १ बलमा ५५ रन जोड्दा अलआउट भयो । मलेसियाका सन्देश सुप्रामनियमले १६ तथा महम्मद शाहिद बिन र महम्मद अमिरुलले समान ८ – ८ रन जोडे । त्यसबाहेक मलेसियाका कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्न नेपालका सुर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३४ ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । नेपालका प्रतिष जिसी सर्वाधिक २५ रन बनाए ।


