![]()
एजेन्सी,मंसिर ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई राजधानीका रुपमा मान्यता दिने एकतर्फी निर्णयबारे चिन्ता व्यक्त गरेका छन् । यस्तो संवेदनशील निर्णय इजरायल र प्यालेस्टाइनका जनता र मुख्य अधिकारीसँगको छलफलपछि मात्र लिनुपर्ने उनले बताएका हुन् । यसअघि पनि केही अरब र मुसलमान देशहरुले यस मुद्दामा विरोध जनाइसकेका छन् । खबरका अनुसार राष्ट्रपति ट्रम्पले बुधबार इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता दिने घोषणा गर्नेछन् ।
यसका साथै उनले अमेरिकी दूतावासलाई समेत जेरुसेलम लैजाने प्रस्ताव व्यक्त गरेका थिए । तर अमेरिकी दूतावासलाई राजधानी तेल अवीवबाट जेरुसेलम लैजाने सोमबारसम्मको म्याद ट्रम्पले पार गरिसकेकाले यो प्रस्ताव खारेज भएको बताइएको छ । ट्रम्पले बारम्बार यसबारेमा वार्ता गरिरहेको भएपनि उनले आफ्नो वचन पूरा गर्न सकेनन् । उता जेरुसेलमलाई राजधानी बनाउने बारेमा अरब समूहका टर्की, जोर्डन र प्यालेस्टाइनका नेताहरुले यसको परीणाम गम्भीर हुने चेतावनी दिइरहेका छन् ।
इजरायल र अरब मुलुकहरुका बीच यस शहरको भविष्यलाई लिएर पहिले देखि नै चर्को मतभेद भएको पाइन्छ । तर ट्रम्पको यस संभावित घोषणाबारे भने इजरायली सरकारले कुनै टिप्पणी गरेको छैन । लामो समयदेखि नै जेरुसेलम अरब र इजरायलका बीच विवादको मुख्य मुद्दाका रुपमा रहँदै आएको छ ।
यस शहरको पूर्वमा यहूदी, इस्लाम र ईसाइ धर्मका पवित्र धार्मिक स्थल रहेका छन् । सन् १९६७ मा मध्य पूर्व युद्धका समयमा इजरायलले त्यस क्षेत्रलाई कब्जा गरेर आफ्नो अविभाज्य राजधानी घोषित गरेको थियो । तरपनि जेरुसेलममा इजरायलको अधिकारले अझै अन्तराष्ट्रिय मान्यता पाएको छैन । त्यसकारण इजरायलको मित्रराष्ट्र अमेरिकाले समेत आफ्नो दूतावास तेल अविवमै राखेको छ ।


