![]()
काठमाडौ,मंसिर ।
चुनाव बिथोल्ने गतिविधि गरिरहेका विप्लवका कार्यकर्ता एक पछि अर्को गरी प्रहरी फन्दामा पर्न थालेपछि अधिकांश नेता तथा कार्यकर्ता भूमिगत भएका छन् । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ । रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न थालेको हो ।
प्रहरी नेतृत्वले प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवालाई विप्लवका कार्यकर्ता समात्न ढिलो गरी निर्देशन दिएको कुरा व्यक्त गर्न नसके पनि अहिले प्रहरी वृत्तमा सरकारको निर्देशन ढिलाइ भएकै कारण कमै मात्र पक्राउ भएको विश्लेषण गरिएको छ ।
प्रहरी मुख्यालयका अनुसार अहिले विप्लवका अधिकांश कार्यकर्ता भूमिगत छन् । एक उच्च प्रहरी अधिकृतले भनेः‘तत्कालीन नेकपा माओवादीबाट चोइटिएर गएकामध्ये करिब हजार जना कार्यकर्ता ध्वंसात्मक गतिविधिमा लागेको आकलन गरिएको छ । तल्लोस्तरमा भने आफूलाई विप्लवका कार्यकर्ता भनेर नचिनाउने तर सुराकी गरिरहनेको संख्या ठूलै छ ।’
सरकारले विप्लवका कार्यकर्तामाथि धरपकड गर्न ढिलो निर्देशन दिएकाले थोरै मात्रै कार्यकर्ता पक्राउ परेको ती प्रहरी अधिकृतको भनाइ छ ।
प्रहरी प्रवक्ता डीआइजी मनोज नेउपानेले दिएको जानकारीअनुसार हालसम्म तीन सय ५ जना मात्र पक्राउ परेका छन् । प्रहरीले केन्द्रीयस्तरका दुई नेता सरला रेग्मी र मानिक लामालाई पनि पक्राउ गरेको छ । उनीहरू नेकपा केन्द्रीय सदस्य हुन् । चितवन प्रहरीले विप्लवका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पनि पक्राउ गरेको छ । विप्लवले राजनीतिक प्रतिशोधका आधारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वा उनको चुनावी सभामा विस्फोटका घटना गराउन सक्ने आशंकामा प्रहरीले निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो टोली चितवनमा विशेष निगरानीका लागि खटिएका छन्।
प्रवक्ता नेउपानेले पक्राउ परेकामाथि केहीलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइए पनि केहीमाथि अनुसन्धान भइरहेको बताए ।


