![]()
काठमाडौ,मंसिर ।
उर्जामन्त्रालयले तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोडने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्राविधिक रिपोर्ट ऊर्जा मन्त्रालयमा बुझाएको थियो। मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउन लागेको जनाएका छन् । मन्त्रालयका एक उच्च अधिकारीले भनेः‘प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अध्ययनपछि ऊर्जा मन्त्रालयमा बुझाएको रिपोर्ट आधारमा चीन सरकारलाई प्रस्ताव पठाउन लागेको हौं ।’
बिजुली आयात तथा निर्यात भारततर्फ मात्र हुने गरेकोमा त्यसको विकल्पका रुपमा चीनतर्फको यो प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिन थालिएको हो । उक्त प्रसारण लाइन निर्माण प्राविधिक रुपमा उचित ठहर भए पनि कति रकम लाग्ने भन्नेबारे भने अझै अध्ययन हुन भने बाँकी रहेको प्राधिकरणको भनाइ छ ।
चिनियाँ पक्षसँग सन् २०२० सम्ममा २ हजार मेगावाट बिजुली बढी हुने भएकाले उक्त बिजुली नेपालमा ल्याउने योजना अनुसार अन्तरदेशीय प्रसारण लाइन निर्माणमा नेपालले जोड दिँदै आएको छ ।
उक्त अन्तरदेशीय प्रसारण लाइन निर्माणपछि वर्षात्को समयमा चीनतर्फ बिजुली निर्यात गर्न पनि सकिने सम्भावना छ । नेपालको त्रिशुली तथा सो क्षेत्र आसपास उत्पादन हुने बिजुली चीनतर्फ आपूर्ति गर्न यो प्रसारण लाइन प्रयोग हुनसक्छ ।
सन् २०१६ को मार्चमा तत्कालीन प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सी जिङ पिङबीच उक्त प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो । चीनयाँ पक्षले प्राविधिक रुपमा उपयुक्त भए नभएको अध्ययन गर्न नेपाल र चीनका प्राविधिकलाई आग्रह गरेका थियो ।


