![]()
गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सबैभन्दा चासो रहेको निर्वाचन क्षेत्र गोरखा २ पनि हो । कुनै समय एउटै पार्टीमा रहेका नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराई नै आपसमा भीडन लागेपछि यो क्षेत्र अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको बिषय बनेको छ । श्रेष्ठ वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेकाछन भने भट्टराई कांग्रेसको समर्थनमा नयाँ शक्ति पार्टीबाट उम्मेदवार बनेका छन ।
दुवै नेता चुनाव प्रचारप्रसारमा व्यस्त रहेकाबेला बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली हेलिकप्टर चढेर गोरखा पुगे । उनीहरु नारायणकाजीको पक्षमा मत माग्न गोरखा पुगेका हुन ।
गोरखा क्षेत्र नं. २ को पालुङटारमा आयोजित सभालाई सम्बोधन गर्दै दुवै नेताले चुनावलगत्तै देशमा कम्युनिस्ट शासन आउने दाबी धारणा राखे ।
ओलीले के भने ?
आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा कांग्रेसा अब अन्तिम प्रधानमन्त्री भएको घोषणा गरे । उनले भने, ‘बीपी र गणेशमानको पालाको कांग्रेस छैन । बूढो रुख कांग्रेस ढल्यो ।’
अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई बूढो रुखको आडमा लागेकोमा कटाक्ष गरे । भट्टराईप्रति लक्षित गर्दै ओलीले भने, ‘नाम लिनु पर्दैन बबुरा भने पुग्छ । कर्कलोलाई बञ्चरो चलाउन आवश्यक छैन ।’
दाहालले के भने ?
माओवादी केन्द्रका अध्यक्ष दाहालले बाबुरामलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे । उनले बाबुराम पतन भएको देख्दा आफूलाई चिन्ता लागेको बताए । उनले भने, ‘ यहाँ नारायणकाजीजीको जित र बाबुराम हार्ने निश्चित भइसक्यो । बाबुराम भट्टराईले पार्टीमात्रै होइन, कसम र सिद्धान्त पनि छाडे । भट्टराईसँग भोट माग्ने कुनै नैतिकता पनि छैन । ’
नारायणकाजीले के भने ?
नेता नारायणकाजी श्रेष्ठले गोरखा २ को नेपाली कांग्रेसको उम्मेदवार समेत आफू नै भएकाले मत दिन आग्रह गरे । बाबुराम भट्टराईविरुद्ध कडारुपमा प्रस्तुत भएका श्रेष्ठले बाबुरामलाई कांग्रेसले समर्थन नगर्ने दाबी गरे । नेता श्रेष्ठले कांग्रेस कार्यकर्ताहरुलाई विवेकका साथ आफूलाई भोट हाल्न आग्रह गरे ।
श्रेष्ठले बाबुराम भट्टराई नेपाली कांग्रेसकै जरो उखेल्ने मान्छे भएको भन्दै जरो उखेल्नेलाई नभई आफूलाई मत दिन आग्रह गरे ।
‘उहाँले वामपन्थीसँग मिलेको दिन कांग्रेसको जरो उखेल्छु भनेको होइन ? अब यस्तै अवसरवादलाई परास्त गर्न र लोकतन्त्रलाई बलियो बनाउन विवेक र्पुयाएर मत दिनुस् ।’


