![]()
चितवन,२९ कार्तिक ।
१० वर्ष जनयुद्ध लडेका माओवादीका पूर्व लडाकुहरु स्वदेशमा काम नपाएर खाडी मुलुकतिर पसिना बगाउँदैछन् । तर,त्यहि जनयुद्धका सर्वोच्च कमाण्डर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने ५० हजार युवालाई रोजगार दिने आश्वासन दिँदै भोट मागिरहेका छन् । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका नेकपा प्रचण्डले जिल्लाका सातै वटा स्थानीय तह एकीकरण गरी‘चितवन मेट्रो सिटी’ बनाउने उद्देश्यसहित विकास र समृद्धिको खाकासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । झुठा आश्वासनको कारण यसअघि २०६४ सालको निर्वाचनमा रोल्पा र काठमाडौको किर्तिपुर र २०७० सालको निर्वाचनमा निर्वाचित भएको क्षेत्र सर्लाहीबाट दोस्रो पटक चुनाव नजित्ने थाहा पाएपछि प्रचण्ड यसपटकको निर्वाचनमा चितवन हानिएका छन् । चितवनमा पनि प्रचण्डले चुनाव जित्नकै लागि गर्न नसकिने कामको आश्वासन बाँड्दै मतदाताको घरदैलो गरिरहेका छन् ।
प्रचण्डको प्रतिबद्धतापत्रमा‘प्रचण्ड रोजगार योजना’,‘प्रचण्ड आवास योजना’,‘चितवन औद्योगिक नगरी’,‘समृद्ध माडी, सम्पन्न माडीबासीको सपना’, चितवन कृषि शिक्षा र उत्पादनको मुख्य केन्द्र, सामुदायिक शिक्षामा क्रान्तिकारी विकास, समृद्ध र विकसित चितवनको सपना, पर्यटकीय चितवन नगरीका लागि विशेष योजना, चितवनलाई मेडिकल राजधानी बनाइने र चितवनको विकास निर्माणको स्थायित्व शीर्षक रहेका छन् ।
निकै महत्वकांक्षी योजना पनि प्रतिबद्धतापत्रमा राखिएको छ । आफ्नै नामबाट विकास योजना दिइएको छ भने नारायणीमा तीनवटा पुल, मेट्रो वा मनो रेल, निकुञ्ज आवतजावत गर्न सुरुङ मार्ग वा आकाशे पुल, पाँच वर्षभित्र ५० हजारलाई रोजगार, समग्र चितवनको एउटै मेट्रो सिटी र भूमिहीनलाई आधुनिक आवास जस्ता महत्वकांक्षी योजना प्रतिबद्धता पत्रमा समेटिएका छन् ।
चितवनमा मेट्रो वा मनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई अघि बढाइने उनको प्रतिबद्धतामा उल्लेख छ । मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति, भरतपुर–मेघौली सडक स्तरोन्नति, नारायणी नदिमा तीन वटा थप पुल निर्माण गरिने, नारायणी र राप्ती नदीमा तटबन्ध गरी चक्रपथ निर्माण गर्ने उनको प्रतिबद्धता छ । भण्डारा–मलेखु सडकलाई स्तरोन्नतिसहित पूर्णता दिइने र शक्तिखोर–फिस्लिङ् सडक निर्माण गरिने प्रतिबद्धतामा जनाइएको छ ।


