Breaking News.... EverestOnlineKhabar
June 26, 2026

निर्वाचन सुरक्षाःसुरक्षा निकायका प्रमुखलाई हाइ एलर्टमा रहन निर्देशन

Loading

काठमाडौ,२६ कार्तिक ।
चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ। शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ। गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई सापकोटाले निर्देशनसमेत दिएका छन्।
माओवादी केन्द्रको गढ मानिएका जिल्लामा केन्द्रकै उम्मेदवारमाथि आक्रमण प्रयास भइरहेका छन्। शनिबार रोल्पामा वर्षमान पुनलगायत वाम गठबन्धनका उम्मेदवार सवार गाडीलाई लक्ष्य गरेर माइन विस्फोट गराइएको थियो। नेत्रविक्रम चन्द‘विप्लव’का कार्यकर्ताले उक्त विस्फोट गराएको सूचना प्रहरीले पाएको छ। शुक्रबार रुकुममा माओवादी केन्द्रकै उम्मेदवार एवं पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्ष्य गरेर बम विस्फोट गराइएको थियो।
रोल्पा र रुकुम माओवादी केन्द्रको लालकिल्ला मानिए पनि विप्लवका कार्यकर्ताले प्रतिशोधमा र चुनाव भाँड्ने योजनाअनुरूप विस्फोट गराएकाबारे सुरक्षा निकायका प्रमुखले सचिव सापकोटालाई ब्रिफिङ गरेका थिए। स्रोतका अनुसार बैठकमा पुन र शर्मामाथि भएको आक्रमण प्रयासलाई‘राजनीतिक प्रतिशोध’ का रूपमा समेत विश्लेषण गरिएको थियो।
सचिव सापकोटाले चुनाव भाँड्ने तत्वमाथि विशेष निगरानी राखेर तत्काल पक्राउ गरी चुनाव अवधिभर थुनामा राख्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएका छन्।‘चुनाव भाँड्ने तत्वबारे सूक्ष्म निगरानी हुनुपर्‍यो। जहाँ भेटिन्छ पक्राउ गर्नुस्। सरकारकै मन्त्रीमाथि समेत आक्रमण भइरहेको छ। सुरक्षा कमजोरी हुन नदिनोस्,विप्लव माओवादीका कार्यकर्तामाथि विशेष निगरानी गर्नुस्।’
राष्ट्रिय अनुसन्धान विभागको सूचना संकलन कमजोरी भएको भन्दै चनाखो रहन विभागका प्रमुख दिलीप रेग्मीलाई समेत सचिव सापकोटाले कडा नर्देशन दिए। सापकोटाले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई पनि सीमा सुरक्षामा विशेष चनाखो रहन निर्देशन दिएका थिए।
वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै नभएर चुनाव नजिकिँदै जाँदा कांग्रेसलगायत मधेसी गठबन्धनका उम्मेदवारमाथि आक्रमण प्रयास हुन सक्ने भन्दै सचिव सापकोटाले सुरक्षा निकाय हाईअलर्ट हुनुपर्ने निर्देशन दिए। विप्लव र उनका कार्यकर्तालाई सामान्य रूपमा नलिन सापकोटाले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए। स्रोतका अनुसार सापकोटा बैठकमा चुनाव भाँड्ने समूहले हतियार विस्फोट गराउन थालेपछि प्रहरीले परिस्थितिअनुसार जफावी फायरिङ गर्न सक्ने छुट प्रहरीलाई भएको स्पष्ट पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed