![]()
काठमाडौ,२६ कार्तिक ।
वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अगावै पार्टी एकीकरण गर्ने तयारी गरेका छन् । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो।
निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरणअगावै एकता घोषणाको तयारीमा जुटेका हुन्। निर्वाचन प्रचार अभियानबीच दुवै पार्टीका शीर्ष नेताहरू फोन, गोप्य भेटघाटमार्फत एकता घोषणालाई अन्तिम रूप दिन छलफल गरिरहेका छन्।
पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए।
पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागि परेका छन्। स्रोतका अनुसार उनीहरूले पहिलो चरणको निर्वाचनबाटै वाम गठबन्धनको उम्मेदवारको पक्षमा अत्यधिक मत खसोस्, कार्यकर्ता तहमा विश्वास पैदा होस् भन्ने उद्देश्यका साथ पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन्।
‘समयमै पार्टी एकीकरणको घोषणा भए गठबन्धनको पक्षका दुई तिहाइ पुग्न सक्ने आँकलन गर्दै दुवैतर्फका नेताहरुले गरेका छन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरूसमेत घोषणाको तयारी भइरहेको बताउँछन्। पहिलो चरण निर्वाचन आउन दुई साता बाँकी रहँदा निर्वाचन प्रचारका कामलाई तीव्रता दिनुपर्ने भएका कारण संयोजन समिति र कार्यदलका केही नेता व्यस्त भएपछि शीर्ष नेताबीच एकता घोषणाको तयारीलाई अघि बढाइएको उनीहरू बताउँछन्।
पार्टी एकीकरणको घोषणाअघि समानुपातिक उम्मेदवारहरूको व्यवस्थापन तथा पार्टी शीर्ष नेताहरूको व्यवस्थापन र नेतृत्वका विषयमा छलफल भइरहेको छ। पार्टी एकीकरणका लागि बनेको एकता कार्यदलले अहिले सो विषयलाई कसरी टुंगो लगाउने भन्नेबारे छलफल गरिरहेको छ। घोषणापछि नेतृत्व कसरी र कसले गर्ने भन्ने विषयलाई भने नेताहरूले अझै गोप्य राखेका छन्।
एकता संयोजन समितिमा एमालेका तर्फबाट पार्टीअध्यक्ष केपी ओली, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन्। माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्।
एकीकरणको सैद्धान्तिक मस्यौदा तयार गरेर चुनावको सम्मुखमा एकीकरण घोषणा गर्ने लक्ष्य राखिएको स्रोतले दाबी गरेको छ।
‘चुनावी सभाहरूमा निर्वाचनपछि वामपन्थीहरू एकता भनिए पनि कार्यकर्ताले तत्काल विश्वास नगर्दा चुनावमा समेत असर पर्नसक्ने अवस्थालाई मूल्यांकन गरी एकीकरणको घोषणा हुन लागेको हो ।
मस्यौदामा एमालेले अख्तियार गरेको बहुदलीय जनवादलाई माओवादी केन्द्रले स्वीकार गर्ने विषयमा सहमत भइसकेको छ भने एमालेमा माओवादी जनयुद्धलाई कतिसम्म स्वीकार गर्ने कि त्यसलाई आन्दोलनका रूपमा व्याख्या गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।
पार्टी एकीकरण गर्नेसम्मको उद्देश्य राखेर दुई पार्टीबीच वाम गठबन्धन भएको थियो। त्यहीअनुरूप उम्मेदवारसमेत तय गरेर दुवै पार्टी आआफ्ना चुनाव चिह्नमा मतदान गर्ने वातावरणसमेत तयार गरिरहेका छन्।


