![]()
बिबिसि । अमेरिकी अधिकारीहरुले न्यूयोर्कको म्यानह्याटनमा गराइएको ट्रक आक्रमणलाई ‘आतंकवादी कार्य’ को संज्ञा दिएका छन् ।
न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछि आतंकवादसँग सम्बन्धित घटनामा मान्छेहरुले ज्यान गुमाएको यो पहिलो पटक हो ।
न्यूयोर्क प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । लोअर म्यानह्याटनमा एकजनाले फुटपाथ र साइकल लेनमा पिक अप ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ । घटनामा ११ जना गम्भीर घाइते भएको अधिकारीहरुले बताएका छन् ।
अर्जेन्टिनाको विदेश मन्त्रालयले ज्यान गुमाउनेमध्ये पाँचजना आफ्नो मुलुकको भएको जनाएको छ । त्यसैगरी बेल्जियम सरकारले मृतकमध्ये एकजना आफ्नो देशको भएको बताएको छ । प्रहरी स्रोतका अनुसार २९ वर्षीय आक्रमणकारी सेफुलो साइपभ भएको पहिचान गरिएको छ । उनी सन् २०१० मा उज्बेकिस्तानबाट अमेरिका पुगेको ठानिएको छ । प्रहरीले गोली हानी नियन्त्रणमा लिएका ट्रक चालकको सुरक्षा निगरानीमा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार तथाकथित इस्लामिक स्टेट समूहलाई उल्लेख गरिएको एउटा टिपोट उनको ट्रकबाट फेला पारिएको छ । घटना लगत्तै भिडिओ खिचेका एकजना प्रत्यक्षदर्शीले आक्रमणपछिको दृश्य देखेर आफू ‘स्तब्ध’ भएको बताएका छन ।


