![]()
काठमाडौं । बिशेषगरी तराईमा धुमधामसंग मनाइने छठ पर्वको रौनक काठमाडौंमा पनि छाएको छ । तराईसंगै काठमाडौंका नदी, तलाउ किनार पनि छठको लागि झकिझकाउ पार्न थालिएको छ ।
चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको मंगलवार पहिलो दिन हो । बिहान स्नानपछि लौका, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका ब्रतालुले यो पर्व सुरु गरेका छन् । उनीहरु अनुकुलता हेरी घरमै वा नजिकैको जलाशय किनारमा नुहाइ चोखिएका छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा वा नहाए खाए’ भनिन्छ । चार दिनसम्म मनाइने यस पूर्णतया शाकाहारी पर्वमा यतिबेला घरघाटदेखि बजारसम्म रमझम हुन्छ ।
पूर्णरुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन बुधबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी र केरा राखी मौन पुजा गर्छन् । स्थानीयले यसलाई खरना भन्छन् ।
मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पूजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन् । परिवारजन, छरछिमेक एवं पाहुनालाई समेत बाँडछन् ।
पर्वको तेस्रो दिन बिहीबार बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमशः चर्चित मिष्ठान ठेकुवा, पुरी एवं भुसुवा बनाउँछन् । यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् । प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन् । मुख्यतः घरका पुरुष सदस्य यतिखेर घाट सिंगार्न एवं बजारबाट ताजा फलफुल र तरकारी ल्याउनमा व्यस्त हुन्छन् ।
पूर्व निर्धारित पुजन थलोमा पुगेपछि सम्पूर्ण पुजन सामग्रीलाई फिजाएर राखिन्छ । नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ । त्यसपछि मुख्य ब्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा उभिन्छन । सहयोगी एवं परिवारजनले उनको हातमा पालैपालो नांग्लोसहितको पुजन सामग्री राख्दै त्यसमाथिबाट दूधरजलको अर्घ दिन्छन् । यो साँझ घरदेखि घाटसम्म दिपावली मनाइन्छ ।
चौंथो तथा अन्तिम दिन शुक्रबार बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन् । साँझकै विधिझैं बिहान उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित अर्घय दिएपछि यो महापर्वको समापन हुन्छ ।


