![]()
बिबिसि । स्पेनी राजा फेलिपे छैटौँले क्याटलोनिया स्पेनको ‘महत्वपूर्ण हिस्सा रहेको र रहिरहने’ बताएका छन् । क्याटलोनिया स्वतन्त्रतासम्बन्धी विवादमा स्पेनी राजाले गरेको हस्तक्षेप यो दोस्रो पटक हो ।
उत्तरी शहर अभिएदोमा आयोजित एउटा पुरस्कार वितरण समारोहमा बोल्दै राजा फेलिपेले क्याटलन सरकारले विभाजन सिर्जना गरिरहे पनि स्पेनले लोकतान्त्रिक संस्थामार्फत समस्याको हल गर्ने बताए ।
क्याटलन नेताहरुले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने चेतावनी दिइरहँदा मड्रिडले क्याटलोनियामा प्रत्यक्ष शासन लागू गर्ने योजना बनाइरहेको छ ।
स्वतन्त्रताको विपक्षमा केन्द्र सरकारसँगै उभिएको स्पेनको विपक्षी दलका अनुसार आउँदो जनवरीमा क्याटलोनियामा चुनाव गराउने योजना छ । शनिवार स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाबारे अवलम्बन गरिने नीतिको घोषणा गर्नेछन् ।
केन्द्र सरकारले संविधानको धारा १५५ सक्रिय तुल्याउने बताएको छ जसअनुसार क्याटलोनियामा पहिलो पटक केन्द्र सरकारको प्रत्यक्ष शासन हुनेछ । क्याटलोनियाको क्षेत्रीय प्रहरी बललाई पनि केन्द्र सरकारले आफ्नो नियन्त्रणमा ल्याउन सक्छ । यद्यपि धारा १५५ ले स्वायत्तता निलम्बन गर्ने पूर्ण अधिकार सरकारलाई दिंदैन ।
स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै क्यालोनियामा यही अक्टोबर १ तारिखमा जनमत संग्रह गराइएको थियो । तर स्पेनको संवैधानिक अदालतले उक्त जनमत संग्रहलाई गैरकानूनी घोषणा गरिसकेको छ ।
यसअघि स्पेनी राजा फेलिपेले क्याटलन नेताहरुले ’लोकतान्त्रिक सिद्धान्त तथा विधिको शासनको उल्लंघन गरेको र केन्द्रप्रति अनादर देखाएको’ बताएका थिए ।


