Breaking News.... EverestOnlineKhabar
June 19, 2026

बामगठवन्धनले समाजवादी क्रान्ति पूरा गर्छ, पार्टीमा सामुहिक नेतृत्व हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब नेपालमा बाम शक्तिहरुको गठवन्धनले समाजवादी क्रान्ति पूरा गर्ने बताउनु भएको छ ।

प्रवासी नेपाली मञ्च जापानद्वारा आयोजित ‘एनआरएनएको आठौं बिश्व सम्मेलनमा सहभागी हुन नेपाल आएका प्रतिनिधिहरुसंग परिचयात्मक तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेपालमा जनवादी क्रान्ति सम्पन्न भैसकेकाले अब समाजवादी क्रान्तिको दिशामा अघि बढनुपर्ने अवस्था आएको बताउनुभयो । यसका लागि सम्पूर्ण देशभक्त लोकतान्त्रिक प्रगतीशिल र वामपन्थी शक्तिहरु एक भएर बामगठवन्धनका रुपमा अघि बढनु खुशीको कुरा भएको उहाँले बताउनुभयो । एमाले र नेकपा माओवादी केन्द्र दुईवटा वामपन्थी पार्टीहरु एकताबद्ध भएर एउटा शक्तिशाली, सुदृढ, राष्ट्रव्यापी जनआधारी र एउटा गतिशील पार्टी निर्माण गर्छांै भन्ने विन्दुमा पुगेपछि मात्रै े तालमेल र एकीकरणको प्रक्रिया थालनी भएको जानकारी उहाँले दिनुभयो ।

वरिष्ठ नेता खनालले नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने अभियानमा सहयोग गर्न सबै आप्रवासी नेपालीहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘ बिभिन्न कारणले बिदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीलाई स्वदेशमा लगानी गर्न म आग्रह गर्दछु । ’ नेपालको संविधान कार्यान्वयनको चरणमा रहेकाले अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक आर्थिक एजेण्डामा प्रवेश गर्ने र त्यसको नेतृत्व नेकपा एमालेले गर्ने दावी गर्नुभयो । नेकपा एमाले स्थानीय तह निर्वाचनमा पहिलो बनेको र अब प्रदेश र प्रतिनिधिशभा निर्वाचनमा पनि पहिलो हुने उहाँको दावी छ । निर्वाचन लगत्तै माओवादीसंग पार्टी एकीकरण भएपछि सरकार बनाउने र मुलुकलाई आर्थिक प्रगतीको दिशामा अघि बढाउने उहाँले बताउनुभयो ।

नेता खनालले पार्टी एकीकरण भएपछि कसैको पनि एकछत्र राज नचल्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ एकछत्र राज गर्ने सपना प्रचण्डले पनि नदेखे हुन्छ । हामीले पनि नदेखे हुन्छ । अरु कुनै एमालेका नेताहरुले पनि नदेखे हुन्छ । देखेका पनि छैनन् । त्यस्तो सपना देखेको भए एकीकरणको निर्णय पनि हुँदैनथ्यो । सामुहिक नेतृत्वको आधारमा एकीकृत पार्टी निर्माण गरेर देशलाई हाँक्ने सपना चाहिँ जसले जति देखे पनि हुन्छ ।’

एमाले र माओवादी केन्द्रबीच भएको ६०/४० को भागवण्डा सन्तुलन मिलाउनका लागि मात्र भएको भन्दै खनालले भन्नुभयो, ‘ ४०÷६० नै ठयाक्कै पुग्नुपर्छ भन्ने छैन । अलिकता थोरै या अलिकता धेरै पनि हुन सक्छ । यसमा हामी कसैलाई पनि धेरै दिन या थोरै दिन चाहंदैनौं, हामी सन्तुलन मिलाएर उहाँहरुका पनि योग्य कार्यकर्ताहरु नेताहरु होलान, हाम्रा पनि योग्य नेता र कार्यकर्ताहरु होलान् । ती नेता कार्यकर्तालाई हामीले ठाउँ दिने, पोजिशन दिने गरेर अगाडि बढ्छौं । ’

वरिष्ठ नेता खनालले चुनाव सार्ने हल्ला यदाकदा सुनिन थालेकोमा आपत्ती जनाउनुभयो । ‘चुनाव हुन्छ, चुनाव गर्नै पर्छ । चुनाब भन्दा अर्को बाटो छैन । जुनसुकै पार्टीले पनि चुनाव सम्पन्न गर्न सबै संकल्प गर्दै जानुपर्छ ।’ खनालले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed