![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जिताइदिन कांग्रेसको शरणमा पुगेका छन । एमाले र माओवादी केन्द्रसंगै बामगठवन्धनमा मिसिएका डा. भट्टराई दुई हप्ता नपुग्दै गठवन्धनबाट बाहिरिएपछि यो अवस्थामा पुगेका हुन । गठवन्धन निर्माणसंगै भट्टराई सार्वजनिक रुपमा कांग्रेसबिरुद्ध खनिएका थिए । उनले बिभिन्न ठाउँमा कांग्रेसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने भन्दै उत्तेजक भाषण गरेका थिए । तर, यो परिस्थिति लामो रहेन ।
बामगठवन्धन भित्रैबाट उनलाई गोरखाबाट टिकट पाउने अवस्था नरहेपछि उनी रन्थनिदै त्यहांबाट निस्किए र अहिले कांग्रेसलाई फकाउने प्रयत्नमा लागेका छन । नेता भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेससंग तालमेल गर्ने रणनीति लिएका छन । यसका लागि उनले प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवासंग एक चरण कुरा गरिसकेका छन । प्रधानमन्त्री देउवाले भट्टराईलाई कुनै बचन नदिएपनि पार्टी भित्र गम्भीर छलफल गर्ने मात्रै जवाफ फर्काएका छन । नेपाली कांग्रेसले सो क्षेत्रबाट कमला पन्तलाई उम्मेदवार बनाउने लगभग निर्णय नै गरिसकेको छ । यो अवस्थामा भट्टराईको चाहना पूरा हुने सम्भावना भने निकै कम छ ।
नेकपा माओवादी केन्द्रले सोही स्थानबाट नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निश्चित गरिसकेको छ । बाबुरामले कांग्रेससंग सहकार्य गर्दै नारायणकाजीलाई हराएर आफू जित्ने रणनीति अख्तियार गरेका हुन ।
कांग्रेस भित्रै भने बाबुराम भर नभएको र कांग्रेसलाई प्रमुख शत्रु मान्ने नेता भएकाले उनको कुरामा लाग्न नहुने आवाज उठेको छ ।


