![]()
एजेन्सी । फेसबुकले १ सय ९९ डलर मूल्यसहित एक नयाँ भर्चुअल रियालिटी हेडसेट अकुलस गो लञ्च गर्ने भएको छ । फेसबुकका अनुसार अकुलस गो कम्पनीको पहिलो एकल प्रडक्ट हुनेछ, जुन भर्चुअल रियालिटीमा जाने सबैभन्दा सजिलो तरिका हो । यो आउँदो वर्ष १ सय ९९ डलर मूल्यमा बजारमा उपलब्ध हुनेछ । भिआरमा फिल्म तथा कन्सर्ट हेर्न, गेम खेल्न तथा आफ्ना साथीहरुसँग रमाइलो यो निकै उपयोगी हुनेछ ।
यो हेडसेट स्मार्टफोन, प्लगइन वा पर्सनल कम्प्युटरको सहायता विनानै एक्लै चलाउन सकिने फेसबुकले जनाएको छ । फेसबुक सिइओ जुकरबर्गले यो सबैभन्दा सुलभ भिआर हेडसेट हुने र आगामी वर्ष जुनसुकै समयमा लञ्च हुनसक्ने जानकारी दिए । आगामी दिनमा एक अर्ब मानिसहरु भिआरमा सामेल होउन् भन्ने चाहना रहेको उनले बताए ।
फेसबुकको अकुलस गो भिआर हेडसेटमा दृश्यलाई प्रष्ट बनाउन हाइ रिजोलुसन फास्ट स्विच एलसिडी स्क्रिन रहेको छ । यसले स्क्रिन डोर इफेक्टलाई कम गर्न मद्दत गर्दछ ।
यसको हेडसेटमा क्यामरा छ र यसले ओरिएन्टेसनल ट्रयाकिंग पत्ता लगाउनका लागि कम्प्युटर प्रविधिको उपयोग गर्दछ । हेडसेटमा स्पिकर हुनुका साथै पर्सनल युजका लागि ३.५ मिलिमिटरको हेडफोन ज्याक समेत रहेको छ ।


