![]()
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशमा एमालेविरुद्ध फैलाइएको भ्रम र झुटलाई चिरेर अगाडि बढ्ने बताउनु भएको छ । भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा एमालेविरुद्ध छर्न खोजिएको भ्रमलाई अब स्पष्टसंग चिरिने बताउनुभयो ।
कांग्रेस र केही मधेश केन्द्रीत दलहरुले तराईंमा एमालेबिरुद्ध फैलाएको भ्रम बिस्तारै छताछुल्ल हुन थालेकाले अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा त्यो झन अझ स्पष्ट हुने दावी गर्नुभयो ।
आफू प्रधानमन्त्री हुँदा तराईको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सडक, घर हस्तान्तरण जस्ता विकासका काम शुरु गरेपनि त्यसपछिको सरकारले ती कार्यक्रमलाई अलपत्र पारेको उहाँको आरोप थियो । नेता ओलीले संसद् नभएको अवस्थामा स्थानीय तहको निर्वाचनमा मतपरिणामको हिसाबले एमाले अब देशको सबैभन्दा ठूलो पार्टी भएको उहाँको दावी छ ।
एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा गठबन्धनबाट उपसभामुख हुनुभएका यादवले अब आफू एमाले भएको बताउनुभयो ।


