![]()
काठमाडौ,२७ असोज ।
गोरखा २ नम्बर निर्वाचन क्षेत्रमा संयोजक बाबुराम भट्टराईलाई माओवादी केन्द्र र एमालेले नछाड्ने भएपछि नयाँशक्ति पार्टीले सूर्य चुनाव चिन्ह छाडेको छ। नयाँशक्तिले एमालेको सूर्य चिन्ह छाडेर आफ्नै पार्टीको आँखा चिन्ह लिएर निर्वाचनमा जाने तयारी गरेको नयाँशक्तिका एक नेताले बताए। एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता घोषणा गरेका भट्टराईले एमाले अध्यक्ष केपी ओलीसँग भेटेर आफ्नो पार्टीले सूर्य चुनाव चिन्हबाटै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने सहमती गरेका थिए।
तर भट्टराईले गोरखा २ नपाउने भएपछि नयाँशक्तिले एमालेको सूर्य चिन्ह छाडेर आफ्नै पार्टीको आँखा चिन्ह लिएर निर्वाचनमा जाने तयारी गरेको नयाँशक्तिका एक नेताले बताए।ती नेताले भनेः‘अब वाम गठबन्धनसँग चुनावी तालमेल भएपनि नभएपनि हामी आफ्नै आँखा चुनाव चिन्ह लिएर भोट माग्न जान्छौँ ।’
निर्वाचन क्षेत्र बाँडफाँट गर्ने क्रममा माओवादी केन्द्रले भट्टराईका लागि गोरखा छाड्न नसकिने अडान लिएपछि भट्टराई अप्ठेरोमा परेका छन्। माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गोरखा २ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुने तयारीमा छन्, जो अहिले निर्माण भएको वाम गठबन्धनका एकजना पहलकर्ता पनि हुन्।
भट्टराई र श्रेष्ठ दुवै गोरखा २ छाड्न तयार नभएपछि गठबन्धनमै संकट आएको छ। गोरखा माओवादीको बलियो पकड रहेको जिल्ला मानिन्छ, जहाँबाट भट्टराईले पहिलो र दोस्रो संविधान सभा चुनाव जितेका थिए। तर उनले माओवादी छाडेर नयाँशक्ति पार्टी गठन गरेपछि संविधानसभाबाटै राजिनामा दिएका थिए।
गठबन्धनमा सहमती नजुटेपछि भट्टराईले ओलीलाई छुट्टै भेटेर वाम गठबन्धन र पार्टी एकता प्रक्रियाबाट समेत बाहिरिन सक्ने चेतावनी दिएका छन्। उनले जुनसुकै अवस्थामा पनि गोरखा २ बाटै उम्मेदवार हुने उद्घोष समेत गरेका छन्।


